रजुल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत (सीईओ)
अर्क्श ग्रुप
ऊर्जाशील उद्यमी डा. राजेश काजी श्रेष्ठले सन् १९७८ मा व्यापार र पर्यटन क्षेत्रलाई केन्द्रित गरी ‘राजेश कन्सर्न’ मार्फत सुरू गरेको व्यावसायिक यात्रा आज ‘अर्क्श ग्रुप’को नामबाट परिचित छ । विभिन्न देशबाट वस्तु आयात गरेर बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानको रूपमा विकसित अर्क्श ग्रुपभित्रका कतिपय उद्योगहरूले हाल नेपालमै वस्तु उत्पादन गरी विदेशमा निर्यातसमेत गर्न थालेका छन् ।
बहुआयामिक र गतिशील व्यावसायिक समूहका रूपमा विकसित अर्क्श ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यावसायिक दायरा विस्तार गरेको छ । अटोमोबाइल, खाद्य उद्योग, होटेल, रेस्टुराँ, फुड एण्ड बेभरेज, पर्यटन, इन्टेरियर, कपडा, जसत्ता, स्वास्थ्य र वेलनेस, सौन्दर्य र कस्मेटिक्स, सूचना प्रविधि (आईटी) लगायतका क्षेत्रमा अर्क्श ग्रुपको बलियो उपस्थिति रहेको छ ।
यो ग्रुपबाट उत्पादित विभिन्न वस्तु तथा सेवाहरू अष्ट्रेलिया, स्विट्जरल्यान्ड, टर्की, युएई, सिंगापुर, कोरिया, भियतनाम, मलेसिया, थाइल्यान्ड, चीन, भारत आदि देशमा निर्यात हुने गरेको छ । यो सबै सफलताहरू कसरी प्राप्त भयो ? नेपालमा काम गर्न सकिँदैन भन्ने युवा वर्गको भाष्यका बीचमा पनि अर्क्शले यति लोभलाग्दो प्रगति कसरी गरिरहेको छ ? यी र यस्तै विषयवस्तुमा केन्द्रित रहेर हामीले अर्क्श ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठसँग लामो कुराकानी गरेका छौँ । युवा नेतृत्व श्रेष्ठसँगको कुराकानीले केही जानकारी, केही प्रेरणा र केही सकारात्मक दृष्टिकोण पस्किने विश्वास हामीले लिएका छौँ । प्रस्तुत छ, कर्पोरेट खबरका ज्योति जीसीले सीईओ श्रेष्ठसँग गरेको लामो कुराकानीको सम्पादित अंश–
लेख्न त जसोतसो लेखुँला तर, बोल्दाखेरि तपाइँको व्यावसायिक प्रतिष्ठानको नाम राम्रोसँग उच्चारण गर्न पनि सकिनँ । यस्तो अफ्ठेरो नाम किन राख्नुभयो ? खासमा ‘अर्क्श’ अर्थ के हो ?

यो अप्ठ्यारो नाम मैले जानीजानी राखेको हुँ । किनभने आजको युवाहरूलाई सबै कुरा एकदमै सजिलो चाहिने भएको छ । यदि मैले एकदमै सामान्य नाम राखेको भए मान्छेहरूले छिट्टै सिक्नुहुन्थ्यो होला, छिट्टै बुझिन्थ्यो पनि होला । अर्क्श भन्ने नाम आकाश राखेको भए एकदमै सजिलोले उच्चारण गर्न सकिन्थ्यो होला । तर, मैले जानीजानी गाह्रो नाम राख्नुको कारण हरेक कुरामा सर्टकट र सजिलो खोज्नु हुँदैन भनेर हो । मैले जुन नाम चयन गरेको छु त्यो मेरो परिवारसँंग पनि जोडिएको छ ।

अर्क्शलाई इनिसियल गरेर हेर्ने हो भने ‘अ राजेश काजी श्रेष्ठ ग्रुप’ नै हो । जुन चाहिँ मेरो बुबाको नाम हो । अनि त्यसका लागि पनि मैले एउटा ट्रिब्युट गरेर नाम राखेको हहुँ । अनि त्यसको अर्थ ‘अफ द स्टार्स’ अर्थात् ताराहरू र ताराहरूको पनि राजा हो खासमा । अर्क्श भनेको संस्कृतबाट हेर्दा अमर हुन्छ । अर्क्श र हाम्रो नारा पनि ‘लेट्स स्विट फर द स्टार्स’ नै हो । त्यसकारण हाम्रो लोगोमा पनि तारा छ । ‘उडी छुनु चन्द्र एक’ भन्ने कविताशंबाट प्रभावित भइ यस्तो नाम राखेको हुँ ।

धेरैले भन्न र सम्झिन सजिलो होस् भनेर सामान्य नामहरू छनोट गर्ने गर्दछन्, तर तपाइँले त ठ्याक्कै उल्टो पो गर्नुभएछ त ?

हो, तर यही गाह्रो नाम नै भविष्यमा धेरै मानिसहरूले सम्झिनुहुनेछ । अर्थात् यो नाम सम्झिने सकैले पनि कहिल्यै बिर्सिनुहुने छैन । आजभोलि जे कुरा पनि शर्टस् (छोटकरी) मा हुन थालेको छ । त्यो भनेको लोकप्रियता हो र लोकप्रियता लामो समयसम्म टिक्दैन भन्ने कुरा मैले बुझेको छु ।

यो नाम राखेको पहिलो एक वर्षमा मेरो आफ्नो अफिसका सहकर्मीहरूले पनि उच्चारण गर्न जान्नुभएन । उहाँहरूले ‘अर्क्श’ भन्न नजान्नुभएर ‘एआरकेएस’ भन्नुहुन्थ्यो । त्यो अवधिमा आफ्नै कम्पनीको नाम मबाहेक कसैले प्रनाउन्स गर्नै जान्नुहुन्नथ्यो । तपाइँलाई पनि अघि सुरूमा आएको थिएन, अहिले आइसकेको छ । भनेपछि अब ५० वर्षपछि अर्को एक लाख जनालाई यो नाम थाहा हुन्छ होला । अर्को हजार वर्षमा त कम्तिमा तीन करोड जनसङ्ख्या (आम नेपाली) लाई थाहा हुन्छ । त्यही हिसाबले चाहिँ ‘लङ टर्म’ सोचेर गरेको । आजको आज मैले एउटा नाम राखेँ । दश वर्षमा त पूरै दुनियाँले देशले थाहा हुनुपर्छ जस्तो गरेर यो नाम राखिएको होइन ।
अर्क्श ग्रुपको अध्यक्ष अहिले पनि यहाँको पिताश्री राजकाजी श्रेष्ठ हुनुहुन्छ । उहाँकै नेतृत्वमा यो सबै कुरा चलिराखेको छ । त्यसमा तपाइँ कार्यकारी भूमिकामा हुनुहुन्छ । अर्क्श ग्रुपमा तपाइँ कहिलेदेखि जोडिएर यो भूमिकामा पुग्नुभयो ?
म अध्ययनको सिलसिलामा मुलुकबाहिर थिएँ । वि.स. २०७२ सालको महाभूकम्पको दुई वर्षपछि नेपाल फर्किएको हुँ । त्यतिबेला मेरो बुबा (राजेशकाजी श्रेष्ठ)ले सञ्चालन गर्नुभएको विभिन्न व्यावसायिक र औद्योगिक प्रतिष्ठानहरू पनि भूकम्पको प्रभावबाट अछुतो थिएनन् । जे–जस्तो अवस्था भए पनि नेपालमै काम गर्ने अठोट लिएर म फर्किएको थिएँ । त्यसै सन्दर्भमा मैले आफ्नो अठोट बुबासँग साझा गरेँ । उहाँले ‘फ्यामिली बिजनेश’भित्रै काम गर्न सुझाव दिनुभयो । त्यसकारण म आफ्नो पारिवारिक व्यवसाय भएका कारण अर्क्श ग्रुपमा जोइन भएँ । पिताश्रीले मलाई सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिका निर्वाह गर्न प्रस्ताव गर्नुभयो । तर, मैले उहाँको त्यो प्रस्ताव अस्वीकार गरेँ । अर्क्शमा जोडिनु भनेको मेरो जीवनकै पहिलो ‘जब’ थियो । तर, त्यहाँ सयौँ मानिसहरू वर्षौँदेखि काम गरेर अनेक अनुभव हासिल गरी काविल बनेर बस्नुभएको थियो । बुबाको व्यवसाय छ भन्दैमा ती काविल कर्मचारीहरूको भावनामा ठेस पुग्नेगरी सिधै उपल्लो पदमा काम गर्न मलाई असहज महसुस भएर त्यो प्रस्ताव अस्वीकार गरेको थिएँ । बुबाले तिमी त्यो कामका लागि सक्षम छौ गर भन्नुभएपछि एउटा शर्त अघि सारेँ ।
मैले आजको जिम्मेवारी लिनुभन्दा अगाडि त्यहाँ लामो समयदेखि काम गर्दै आउनुभएका कर्मचारी साथीहरूसँग प्रतिस्पर्धाको प्रस्ताव राखेको थिएँ । जोसँग क्षमता छ उसैले कार्यकारी जिम्मेवारी लिएर काम गरौँ भन्ने मेरो निस्वार्थ उद्देश्य थियो । तर, सबै साथीहरूले प्रतिस्पर्धा नगरौँ भन्नुभयो । म जोइन भइसकेपछि पनि केही समय कामको रफ्तार हेरौँ त्यसपछि फेरबदल गरौँला पनि भनेको थिएँ । त्यसमा पनि उहाँहरूले ‘तपाइँ नै अघि बढ्नुहोस्’ भन्ने सुझाव दिनुभयो । मेरा प्रिय सहकर्मीहरूलाई मेरो आग्रह छ, तपाइँहरू र म उस्तै हौँ । हरेक काम क्षमताले गर्ने हो, त्यो क्षमता र अनुभव मसँगभन्दा तपाइँहरूसँग बढी छ । त्यसैले आफूलाई कमजोर र अरुलाई बलवान भनेर नसोच्नुहोस् । परेका बेला जस्तोसुकै परिस्थितिको पनि सामना गरेर आफ्नो क्षमतालाई स्थापित गर्ने अवसर छोड्न हुँदैन ।
मैले उल्लेख गरेको पृष्ठभूमिबारे जानकारी नभएपछि बजारमा राजेशकाजी श्रेष्ठको छोरो भएकै कारणले स्वतः सीईओ भयो भन्ने भ्रम छ । तर, मेरो सन्दर्भमा वास्तविक भने होइन । कार्यक्षमता अनुसारको जिम्मेवारी पाउनुपर्छ भन्नेमा म स्पष्ट छु । त्यसकारण राजेशकाजी श्रेष्ठको छोरा हुँदैमा गतिलो पद पाउनुपर्छ भन्ने मेरो सोचाइ पटक्कै छैन ।
बाहिर पढेर आएँ भन्नुभयो । तपाईंको अध्ययन र अलिकति बाल्यकालको अनुभवका बारेमा पनि सुनौँ न ?
नेपालमा कक्षा ४ मा पढ्दाखेरि म अध्ययनकै लागि भारत गएको थिएँ । यो सन् २००७ सालतिरको कुरा हो । नेपालमा विभिन्न किसिमका मुभमेन्टहरू चलिरहेका थिए । जसका कारण प्रायः दैनिकजसो नेपाल बन्द हुने र पढ्न नपाउने अवस्था बनेको थियो । त्यसैकारणले बुबाले म र मेरी दिदीहरूलाई समेत पढ्नका लागि इन्डिया पठाउनुभएको थियो । पछि अवस्था सामान्य बनेपछि पुनः नेपालमै आएर दुई वर्ष अध्ययन गरेँ । त्यसपछि थप अध्ययनका लागि म फेरि इन्डिया र थाइल्याण्ड पुगेको थिएँ । यसरी विभिन्न समय गरेर मैले करिब १८ वर्ष मुलुकबाहिर बिताएँ । मैले म्यानेजमेन्टमा स्नातकोत्तर गरेको छु ।
जो मान्छेहरू अध्ययनका निम्ति विदेश जानुभएको छ । उहाँहरू उतै अध्ययन गर्ने र सामान्यतया उतै सेसा व्यवसाय गरेर नेपाल नफर्किने चलन बढेको छ । तर, तपाइँ नेपाल फर्किनुभयो, त्यो पनि व्यवसायमै प्रवेश गर्ने उद्देश्य राखेर । आफ्नो बुवाको उद्योग व्यवसाय छ भनेर फर्किनुभयो कि अरु पनि सोच्नुभएको थियो ?
तपाइँले भन्नुभएको कुरालाई मैले इन्कार गरेँ भने धेरैले पत्याउनुहुन्न र बुबाको त्यो संघर्षलाई कम आँक्नु पनि हुँदैन । त्यसकारण म नेपाल फर्किनुको कारण बुबाको उद्योग व्यवसाय पनि हो, तर म सानैदेखि व्यापार व्यवसायमा रुची राख्थेँ र पढेपछि नेपालमै फर्किएर काम गर्नुपर्छ भन्ने सोच थियो । त्यसैअनुसार मैले अध्ययनको विषय समेत छनोट गरेको अवस्था थियो ।
तपाइँ यात्राको बीचबाट जोडिनुभयो । तर, अर्क्श ग्रुपको यात्रा अलि लामो छ । यसको स्थापना र यहाँसम्मको यात्राका बारेमा कत्तिको जानकारी राख्नुभएको छ ?
पारिवारिक रूपमा यो व्यवसाय हजुरबुबाबाट सुरू भएको हो । त्यतिबेला इन्डिया र हङकङबाट विभिन्न सामानहरू आयात गरी बिक्री गर्नुहुन्थ्यो रे । सन् १९७० मा राजेश कन्सर्न भन्ने एउटा कम्पनी एस्ट्याब्लिस गरेर व्यवसायलाई थप औपचारिक बनाउनुभएको थियो । त्यतिबेला व्यापार गर्न निक्कै सजिलो थियो रे । भ्याट र ट्याक्स झण्झट थिएन रे । सामान ल्यायो, बेच्यो, खासै केही नियमहरू थिएन । यति हुँदाहुँदै पनि त्यसबेलामा अरु धेरै कुराहरू गाह्रो थियो रे । तर, त्यो भन्दा अहिलेको अवस्था वा समय धेरै गाह्रो भएको महसुस म स्वयम्ले गरिरहेको छु ।
बिजनेस ग्रुप यत्तिकै ग्रुत त हुँदैन । कुनै न कुनै व्यवसाय अथवा उद्योगबाट त सुरूवात गर्नै पर्यो । यो छाताभित्र भएका कम्पनीजहरूमध्ये सबैभन्दा पहिलो कम्पनी कुन थियो ?
फर्स्ट कम्पनी भनेको राजेश कन्सर्न नै हो । जुन त मेरो बुबाको नामबाट राखिएको थियो । त्यसमा बुबा र हजुरबुबाले काम गर्नुहुन्थ्यो ।
हामीले सरसर्ती बाहिरबाट हेर्दा पनि करिब दुई दर्जन जति कम्पनीजहरू अर्क्श ग्रुपको छाताभित्र देखिन्छ । ती कम्पनीहरू कस्ता–कस्ता कम्पनी छन् ? तिनले दिने वस्तु तथा सेवाहरू के–के हुन् ?
आज अर्क्श ग्रुप एक बहुआयामिक र गतिशील व्यवसायिक समूहका रूपमा विकसित भइसकेको छ । आफ्ना गतिविधिहरूलाई विभिन्न क्षेत्रमा विस्तार गरेको अर्क्श ग्रुपको यो छातामुनी अटोमोबाइल, खाद्य उद्योग, होटेल तथा रेष्टुराँ, फूड एण्ड बेभरेज, धातु, खनिज, पर्यटन, कार्पेट, कपडा, जुत्ता, स्वास्थ्य, सौन्दर्य प्रसाधन सामग्री, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न व्यावसायिक प्रतिष्ठानहरू छन् । हाम्रा उत्पादनहरू अष्ट्रेलिया, स्विट्जरल्याण्ड, टर्की, यूएई, सिङ्गापुर, कोरिया, भियतनाम, मलेसिया, थाइल्याण्ड, चीन, भारत आदि देशहरूमा निर्यात हुने गरेका छन् । नेपालका विश्वासिला व्यावसायिक ग्रुपहरूमध्येको अर्क्श ग्रुप एक हो । यसले स्थानीय बजार, जनजीवन र संस्कृतिप्रति सम्मान गर्दै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रोजगारका अवसर सिर्जना गर्न र देशमा उद्यमशीलता प्रवर्द्धन गर्न हाम्रो महत्वपूर्ण योगदान रहेको छ ।
त्यसमध्ये तपाईंलाई मनपर्ने क्षेत्र र तुलनात्मकरूपमा बढी नाफा गर्न सकिने व्यवसायचाहिँ कुन रहेछ ?
अर्क्श ग्रुपभित्रका सबै उद्योग, व्यवसाय र प्रतिष्ठानहरू मेरा लागि उत्तिकै महत्वपूर्ण छन् । यद्यपि, तपाइँले प्रश्न गर्नुभएपछि जवाफ दिन बाध्य हुने भएँ । सबै उत्तिकै महत्वपूर्ण हुँदाहुँदै पनि मलाई क्लोज लाग्ने उद्योग क्षेत्र हो । किनभने उद्योग सञ्चालन गरेर विदेशी मुद्र आर्जन गर्न सकिन्छ, ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सकिन्छ, निर्यातयोग्य उत्पादन छ भने त्यसले विदेशी मुद्रा आर्जनका साथै देशको पहिचान पनि बढाउँदै जान्छ । अहिले हामीले कोदो र मकैका बिस्कुट, पफ अन्य परिकारहरू बनाइरहेका छौँ । यसले देशकै उत्पादन प्रयोग हुने र कृषिलाई प्रोत्साहन गर्ने भएर आफैंलाई असाध्यै खुसी तुल्याइरहेको छ । अर्को धेरै मार्जिन हुने व्यवसाय मरो विचारमा अटोमोबाइल हो ।
व्यावसायिक रूपमा करिब–करिब सबै क्षेत्रमा तपाइँहरूको बलियो उपस्थिति देखियो । सामाजिक सेवाको क्षेत्रसँग पनि जोडिनुभएको भए झन् राम्रो हुन्थ्यो होला कि ?
बाहिरबाट हेर्दा कमाएको मात्रै देखिन्छ । तर, हामीले समाज सेवाको क्षेत्रमा पनि काम गर्दै आएका छौँ । मैले यति समाजसेवा गरेँ भनेर हामीले नभनेका कारण धेरैलाई थाहा नभएको हो । अर्क्श ग्रुपको छाताभित्र रहेको हेल्थ एण्ड वेलनेसअन्तर्गत हामीले भक्तपुर र काठमाडौं (लाजिम्पाट) मा निर्वाणा फिजियोथेरापी सेन्टर चलाएका छौँ । जसलाई हामीले विशुद्ध सामाजिक सेवाभावले सञ्चालन गरिरहेका छौँ । जहाँ आर्थिक अवस्था कमजोर हुनेहरूले निःशुल्क उपचार सेवा पाइरहनुभएको छ । पैसा तिर्न सक्नेहरूलाई केही शुल्क लिन्छौँ र त्यसबाट आएको नाफाले पनि समाजसेवा नै गर्ने गरेका छौँ । नाफालाई अर्क्श हेल्प्स भन्ने प्लेटफर्ममार्फत खासगरी क्यान्सरलगायत स्वास्थ्यज नचेतानाका लागि खर्च गरिरहेका छौँ ।
म सबै बिजनेसमा ध्यान दिन्छु, त्यसमध्ये पनि निर्वाणामा विशेष ध्यान दिन्छु । मलाई थाहा छ कि यसबाट मैले पैसा कमाउने होइन यो समाजको लागि हुन्छ भनेर सोच्दाखेरि अझै मज्जा आउँछ । नत्र त मैले पैसा आउने होइन भनेर निर्वाणालाई यत्तिकै छोड्दिए पनि हुने हो नि त । तर, बढी नै ध्यान दिने गरेको छु ।
अहिलेसम्म कति जति मान्छेहरूले त्यहाँबाट लाभ लिइसक्नुभयो ?
टोटल हाम्रो १५ सय जना पेसेन्ट भइसक्नुभयो । हाम्रो एकजना पेसेन्ट एकदम याद भएको पेसेन्ट चाहिँ म पढ्दाखेरि थियो । प्यारालाइसिस भएको थियो उहाँलाई । उहाँका छोरीहरू आउनुहुन्थ्यो अनि एकदमै गाह्रो थियो उहाँलाई हिँड्नलाई पनि । तीन महिना जति भएको थियो उहाँलाई गाह्रो भएको । खासै पैसा पनि थिएन उहाँहरूसँग । अनि मैले उहाँ ठिक नभएसम्म उपचार गर्नु भनेर मेरो टीमलाई भनेँ । तीन महिनापछि उहाँ मजाले हिँड्न सक्नुभयो । त्यो चाहिँ एकदमै मज्जाले याद छ ।
विभिन्न खालका प्रतिस्पर्धाको दुनियाँमा अर्क्शका उत्पादनलाई बजारमा कसरी प्रतिस्पर्धी बनाइरहनुभएको छ ?
अर्क्श ग्रुप मातहतका उद्योगहरूले जे जति ब्राण्ड र प्रडक्टहरू उत्पादन गरिरहेका छन् ती सबै उच्च स्वस्थकर र गुणस्तरका छन् । मैले यत्तिकै भनेर तपाइँले मेरो कुरा नपत्याउन पनि सक्नुहुन्छ, तर जसले हाम्रा उत्पादनहरू उपभोग गर्नुभएको उहाँहरूले त्यसको अनुभूति गर्नुभएको छ । किनकी हामीले सकारात्मक प्रतिक्रियाहरू पाइरहेका छौँ । तपाइँले भन्नुभएको जस्तो प्रतिस्पर्धाको यो दुनियाँमा गुणस्तरहीन सामान उत्पादन गरेर त हामीले आफ्नो उद्योग टिकाउन पनि सक्दैनौँ नि । अर्को कुरा हाम्रा उद्योगहरू अलिक पृथक उत्पादनमा जोड दिइरहेका छन् । जस्तोः कोदो र मकैबाट बिस्कुट, पफलगायत ‘सुगर फ्रि’ उत्पादन हामीले गरिरहेका छौँ । जुन उत्पादनले मेरो विचारमा बजारमा धेरै ठूलो प्रतिस्पर्धा गर्न पर्दैन ।
यहाँले कोदोको बिस्कुट उत्पादन गरिरहेको कुरा गर्नुभयो । बजारचाहिँ कस्तो छ ?
बजार राम्रो छ । हेल्दी भएकाले सबैले मन पराइदिनुभएको छ । त्यसका लागि धेरै खुसी लाग्छ मलाई । तर, बिक्रीको कुरा गर्दाखेरि आयात गरिएका डीडीएनका बिस्कुटको तुलनामा यसको निकै कम छ । यद्यपि, यो नेपाली उत्पादन हो र डीडीएनकै जत्तिको गुणस्तर, स्वाद र सन्तुष्टि दिलाएर यसलाई ब्राण्डिङ गर्न चाहिरहेका छौँ । आयात गरिएका भन्दा यहीँ उत्पादन गरिएका वस्तु तथा सेवाको माग र बिक्री बढाउन सकियोस् भन्ने मेरो उत्कट चाहना छ । हाम्रो अरु धेरै बिजनेसहरू भए पनि, अरु अरु कम्पनीजहरूको धेरै कारोबार भए पनि, मैले चाहिँ प्रमोटचाहिँ मेड इन नेपाल नै गर्नुपर्छ जस्तो लाग्छ भनेर यसलाई फोकस गरिरहेको छु ।
कोदो कहाँबाट सङ्कलन गर्नुहुन्छ ? ‘मेड इन नेपाल’ भन्दै आयात त गरिरहनुभएको छैन ?
हामीले कोदो नेपाली किसानहरूबाटै लिन खोज्छौँ र लिन्छौँ पनि । हामीलाई कति जना सप्लायर्सहरूले इन्डियाको कोदो पनि दिन खोजिरहेका छन् । त्यो २०% सस्तो पनि छ, तर नेपालमै पाउने कुरा हामीले बाहिरबाट लिएका छैनौँ । हामी मेक स्योर गर्छौँ कि नेपालकै किसानहरूबाट आएको प्रोडक्ट होस् भनेर । अहिले हामीले त्रिशूलीमा उत्पादित कोदो धेरै प्रयोग गरिरहेका छौँ । कोही एक जनाले सबै कोदो सङ्कलन गरी हामीलाई चाहिनेजस्तो बनाएर हामीलाई उपलब्ध गराइरहनुभएको छ । किनभने हामीले अहिले पिठोको फर्ममा कोदो लिइरहेका छौँ ।
तपाइँले जेजति उत्पादन गरिरहनुभएको छ, त्यसका लागि नेपालमै उत्पादित कोदोले पुगिरहेको छ ?
पुगिरहेको छ । हामीले कोदो मात्रै होइन मकै र फाफरहरूको पनि परिकार उत्पादन गरिरहेका छौँ । हाम्रो ‘नेक्स्ट प्रोडक्ट लाइन’ आउँदैछ त्यो पनि नेपालमै पाउने प्रोडक्टहरू खोज्छौँ ताकि नेपाली किसानहरूलाई पनि उत्साहित बनाउन सकियोस् ।
अब अलिकति नेतृत्व र त्यो व्यवस्थापनसँग सम्बन्धित केही कुराकानी पनि गरौँ । कि तपाईं एउटा ठूलो कम्पनीको युवा सीईओ हुनुहुन्छ, जुन कार्यकारी पद पनि हो । तपाईंको नेतृत्व शैलीचाहिँ कस्तो छ ?
म रजुल श्रेष्ठ एक जना व्यक्ति हो, तर नेतृत्व भनेको सामुहिकतामा हुन्छ । त्यसकारण अर्क्शमा म एक्लै नेतृत्व हुँ भन्ने लाग्दैन । यो सम्पूर्ण टीको एफोर्ट हो । त्यो नै सही अर्थमा नेतृत्व हो । जहाँसम्म टीमको कुरा गर्दा म त एकदमै फरच्युनेट लाग्छ । म भन्दा राम्रो त मेरो टीम छ । अहिले तपाइँसँग कुरा गरिरहेको रजुल श्रेष्ठ अर्क्श ग्रुपको प्रतिनिधि मात्रै हो । यदि मेरो टीम राम्रो थिएन भने म यो स्थितिमा रहने थिइनँ । तर, आफ्नो टीमलाई मोटिभेट गरिरहनुपर्छ भन्ने मेरो मान्यता छ ।
तपाइँले आफ्नो अध्ययनदेखि अर्क्श ग्रुपको सीईओ बन्दासम्मका विभिन्न कुराहरू रोचक ढङ्गले सुनाउनुभयो । त्यो सबै कुरालाई हेर्दा यो लिडरशीप भन्ने कुरा चाहिँ के रहेछ ?
इमानदार कुरा गर्ने हो भने अहिले मेरो स्थिति क्रियट हुनुमा ‘ड्याडी’को भूमिका महत्वपूर्ण छ । किनभने ड्याडी जहिले पनि लिडर नै हुनुहुन्छ, जहिले पनि प्रेसिडेन्ट नै हुनुभएको छ, जहिले पनि कुनै न कुनै नेतृत्वमै देखिनुहुन्छ । उहाँले जहिल्यै लिड मात्रै गरेको देखिन्छ, जुन कुरा मैले बच्चैदेखि हेर्दै र प्रभावित हुँदै आएको छु । त्यसकारण मैले जे देखेँ, त्यही सिकेँ कि जस्तो लाग्छ ।
अब अलिकति हाम्रो नेपाली बजार र उद्यमशीलताको अवस्थाको विषयमा पनि चर्चा गरौँ । अहिलेका युवाहरू त नेपालमा केही गर्नै सकिँदैन, काम गर्ने वातावरण नै छैन भन्दै धमाधम विदेशतिर पो गइरहेका छन् । एक जना युवाको नजरले हेर्दा तपाइँको दृष्टिकोण पनि त्यस्तै हो ?
उहाँहरूले भन्नुभएको जस्तो खत्तमै भएको मलाई लाग्दैन । किनभने म आफैँ नै काम गरिरहेको छु । मैले आफैँ नगरेको भए पो मैले छैन भन्नु । यदि मैले सक्छु भने त अरुले पनि किन नसक्ने भन्ने भावना मेरो मनमा आउँछ । कुनै पनि काम नगरी थाहा हुँदैन, गरेर पनि परिणाम सही नआउन सक्छ आत्तिन हुँदैन । केवल एक–दुई पटकको प्रयासले मात्रै असफलता नाप्न हुँदैन । निराश नभइ आफ्नो लक्ष्यमा पुग्न सधैं प्रयासरत हरनुपर्दछ ।
अहिले हामी समाजमा जति पनि युवा भेट्छौँ, सकारात्मकता भेट्दैनौँ । नेपालमा जे–जे भइरहेको सबै गलत मात्रै देख्नुहुन्छ । उहाँहरूलाई के सुझाव दिन चाहानुहुन्छ ?
नेगेटिभिटी भनेको त कहिल्यै सोलुसन नै होइन जस्तो लाग्छ मलाई । यदि म नेगेटिभ भएको भए पनि त्यही कुरा भन्थेँ होला सायद । तर, हामीले जीवन सुन्दर र सन्तुष्ट बनाउनु छ भने सकारात्म कुराहरूलाई मात्रै अपनाउनुपर्छ । अरुको लहैलहैमा लागेर जे पनि खराब देख्ने मनोवृत्तिले साच्चै मानिसलाई शारीरिक रोगीसम्म पनि बनाउँछ । जुन देशमा गएर काम गरे पनि सानो–ठूलो समस्या आउँछ । समस्यारहितको जीवन हुँदैन । यो कुरालाई बुझ्ने प्रयत्न हामी स्वयम्ले गर्नुपर्छ ।
बाँकी कुराकानी भिडिओमा हेर्नुहोस्–
FACEBOOK COMMENTS