काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाईवाईले सर्वसाधारणलाई पनि शेयर जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरेर सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको हो ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आईपीओ ल्याउने तयारी भईरहेको जानकारी दिए । कम्पनीले २ वर्ष भित्र आईपीओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीको काठमाडौँ, नवलपरासी, बर्दिया र सुनसरीमा रहेको फ्याक्ट्रीबाट वाईवाई उत्पादन हुदै आएको छ । नेपालमा उत्पादित वाई वाई ३० देशमा निर्यात हुन्छ ।
चौधरीको भारतमा रहेको सिजी फुड्स इन्डियाले भारतमा पनि वाई वाई उत्पादन गरिरहेको छ । सो कम्पनीले पनि भारतमा आईपीओ जारी गरेर त्यहाँको शेयरबजारमा सुचिकृत हुने योजना बनाएको छ ।
आधा दशकदेखि चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले केही सार्वजनिक कार्यक्रमहरुमा आफ्नो लोकप्रिय उत्पादन ‘वाइवाइ’ चाउचाउले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने बताउँदै आएका थिए ।
वाईवाई चाउचाउ विश्वभर राम्रो ब्राण्ड बन्ने क्रममा छ । सन् १९८४ देखि मुलुकभर बिक्री सुरु भएको वाइवाइले नै चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई डलर अर्बपति बनायो । उत्पादन सुरु भएको चार दशकदेखि वाइवाइ नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्डमा छ । वाइवाइ अहिले दुई दर्जन फ्लेबरमा प्रत्येक दिन १५ लाख प्याकेटभन्दा बढी उत्पादन भइरहेको छ ।
FACEBOOK COMMENTS