काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ ।
गाडी उही तर नाम फेरेर बिक्रीवितरण भइरहेको विषयमा पाटन उच्च अदालतले ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा रोक लगाउन आदेश दिएको हो । ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नू र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नू’ अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ ।
नेपालमा केवाईसी भ्यानको आधिकारिक आयात र बिक्रीकर्ता सीजी मोटर्स हो, तर ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ले सोही गाडी आयात गरी नाम फेरेर बिक्रीवितरण गरेपछि विवाद अदालतसम्म पुगेको थियो । उक्त विवाद निरुपणका लागि यसअघि गत साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्सबाहेक अन्य कुनै पनि कम्पनीले केवाईसी गाडी आयात नगर्न आदेश दिएको थियो ।
तर, ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ले उक्त आदेशको अवहेलना गर्दै त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएपछि विषय पुन: अदालत पुगेको थियो । उक्त विवाद निरुपण गर्न अदालतले ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्री बन्द गर्ने आदेश दिएको हो ।
केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए ।

केवाईसीको उत्पादक कम्पनी चोंगकुइंग चाइना ले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ ।

FACEBOOK COMMENTS