काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटक २५ थान किङ्गलङ्ग भ्यान हस्तान्तरण गरेको छ ।
हिजो आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी १४ सीट क्षमतामा २५ थान इलेक्ट्रिक भ्यान सुपर माउन्ट एभरेस्टलाई हस्तान्तरण गरिएको सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले जानकारी दिए ।
‘यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सीजी मोटर्स परिवार अत्यन्तै हर्षित र गौरवान्वित भएका छौँ,’ महाप्रबन्धक पाण्डेले भने, ‘सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई गाडी हस्तान्तरण गर्दैगर्दा उहाँहरूले वातावरण संरक्षणतर्फ लिनुभएको सो कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं ।’
सीजी मोटर्सले आगामी दिनहरूमा अन्य यातायात व्यवसायीहरूलाई पनि वातावरणमैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहेको उनले बताए । ‘बजारमा प्रचलित डिजेल भ्यानहरूसँग तुलना नै गर्ने हो भने, इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्यधिक खर्चहरू पूर्ण रूपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ । प्रतिकिलोमिटरको अपरेटिङ्ग कष्टको हिसाब गर्ने नै हो भने दुई रूपैयाँ भन्दा पनि कम हुन आउँछ जसकारण हाम्रो यातायात व्यवसायीहरूले न्यूनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ,’ उनले भने ।
कस्तो भ्यान हो किङलङ ?
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल हो । जसमा ५०.२३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ । साथसाथै काठमाडौंमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने छ । नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उत्तिकै ठाउँमा चार्जिङ सुविधा बिक्रीवितरण हुने छ ।
गाडी हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता, अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति पनि रहेको थियो ।
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS