काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेख्दै एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन सबैलाई उच्च मनोबल सहित सक्रिय हुने आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै यस्तो आग्रह गर्नुभएको हो । पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ ।
उहाँले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गर्नुभएको छ । ‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भन्नुभएको छ ‘अत: बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेद्वारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेख्नु भएको हो । ‘ठूलो संख्यामा रहेका पार्टी सदस्यहरुलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भन्नुभयो ‘यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभुती गर्ने विश्वास गरिएको छ ।’ देशमा विध्वंस र आगजनी गर्नेहरुलाई चुनावी मैदानबाटै विदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुर्याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।
FACEBOOK COMMENTS