काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले यथार्थ कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन राजस्व अनुसन्धान विभागसँग आग्रह गरेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँगको भेट गरी चेम्बरले वस्तुहरूको आयात तथा निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।
चेम्बरले सन्दर्भ मूल्यसूचीलाई आधार बनाएर कारोबार गर्दा न्यून बिजीकीकरणको समस्या भएको र सरकारले यथार्थ कारोबारका आधारमा राजस्व नपाएको चेम्बरको भनाइ छ । यस्तै चेम्बरले सन्दर्भ मूल्यसूचीलाई आधार बनाएर भन्सार राजस्व तथा मूल्यअभिवृद्धिकर उठाउँदा कर प्रणालीमा समस्या सृजना भएको पनि बताएको छ ।
महानिर्देशक पौडेलसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्दर्भ मूल्यका कारण समग्र राजस्वमा नै असर गरेको तथा हुण्डी कारोबार मौलाएको दाबी गरे । उनले बिलबीजक प्रक्रियामा पनि कठिन भएको भन्दै यथार्थ कारोबारलाई आधार मान्न आग्रह गरे । अनियमित कारोबार गर्ने व्यवसायीलाई निरुत्साहित गर्ने नीति ल्याउन उनको सुझाव छ ।
‘भन्सार विन्दुहरूमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्नुपर्छ,’ अध्यक्ष मल्लले भने ।
भेटका अवसरमा त्यस्तै, महानिर्देशक पौडेलले व्यापार सहजीकरण गर्ने काममा सरकार प्रतिबद्ध रहेको जानकारी दिएको चेम्बरले बताएको छ ।
FACEBOOK COMMENTS