काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको छ ।
मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरेका हुन् । सो अवसरमा मेलाको उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्री भण्डारीले बजारलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने र रोजगारीको संभावनाको खोजी रोजगारदाताले गर्नुपर्ने बताउदै सरकारले ७५३ पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुरु भएको उक्त एक्स्पो जेठ ८ गतेसम्म चल्नेछ । एक्स्पोमा स्वदेशी उत्पादनसँगै विदेशी वस्तुहरूको प्रदर्शनी भइरहेको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा व्यापारिक अन्तरक्रिया एवं आयात–निर्यातको सूचना आदान–प्रदानसँगै नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
उनले एक्स्पोबाट बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी–व्यवसायीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत टेवा पुग्ने दाबी गरे । एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यान्नका सामग्रीहरू, जडीबुटीजन्य वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरूसमेत प्रदर्शनी भइरहेका छन् ।
एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेशलगायत मुलुकमा उत्पादित सामग्रीका १५० स्टल रहनेछन् ।
FACEBOOK COMMENTS