काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक वद्धिका सन्दर्भमा विश्व बैंकले हालै गरेको प्रक्षेपण सच्याउन आग्रह गरेका छन् ।
विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीसँग मंगलबार जमलस्थित चेम्बर भवनमा भएको छलफलका क्रममा उनले विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ का लागि गरेको आर्थिक वृद्धिको प्रक्षेपण वास्तविक नरहेको चर्चा गर्दै पुनरवलोकन गर्न आग्रह गरेका हुन् ।
‘जेन जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व वैंकको प्रक्षेपण वास्तविक छैन, यसलाई तत्काल करेक्शन गर्न आग्रह गर्दछु,’ उनले छलफलका क्रममा भने । जेन जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारे पनि निजी क्षेत्रको मनोबल उच्च रहेको अवस्थामा आर्थिक वृद्धिदरलाई धेरै घट्न नदिइने उनको भनाइ थियो ।

विश्व बैंकले गरेको प्रक्षेपणले आम नेपाली नागरिकमा निराशा बढाउने भएकाले त्यसलाई तत्काल सच्याउनुपर्ने सुझाव अध्यक्ष अग्रवालले दिएका हुन् ।

विश्व बैंकले गत असोज २१ गते साउथ एसिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै हालैको जेन जी आन्दोलनका कारण नेपालको चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालले २ दशमलव १ र आगामी आर्थिक वर्ष २०८३/८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो । जेन जी आन्दोलनअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछि ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो ।

प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट राष्ट्र भएको चर्चा गर्दै उनले नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रुपमा स्थापित गर्ने लक्ष्यबाट नडगमगाएको स्पष्ट गरे । ‘देशका अथाह प्राकृतिक स्रोतहरुको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ,’ उनले भने ।



विश्व बैंकका प्रतिनिधिसमक्ष अध्यक्ष अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सवल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएकोसमेत चर्चा गरे । भौतिक पूर्वाधार, कृषि, जलविद्युत्, पर्यटन, खानी, जडीबुटी तथा औषधिजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।

उल्लेखित क्षेत्रहरुमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा अध्यक्ष अग्रवालको जोड छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवम् विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो । छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानूनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखेका थिए ।
FACEBOOK COMMENTS