काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँग भेटवार्ता गरेको छ ।
जमलस्थित चेम्बर भवनमा आज सोमबार भएको भेटवार्तामा नेपाल–पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि चेम्बरले राजदूत शाहसँग आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरणका लागि काठमाडौं–कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सो अवसरमा बताए ।
दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक गतिविधी विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा उनको जोड छ ।
हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत शाहसँग आग्रह गरेका छन् ।
अध्यक्ष मल्लले भने, ‘नेपाल र पाकिस्तानबीच हवाई दुरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ । पर्यटन विस्तार गर्न सकिन्छ । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’
भेटमा राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाईदा हुनेगरी आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने शाहको भनाई छ ।
दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधी विस्तारका लागि आफुले पहल गर्ने राजदुत शाहाले प्रतिवद्धता जनाए ।
FACEBOOK COMMENTS