काठमाडौं । आज देशभर वर्षा हुने सम्भावना रहेको छ । पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा जारी छ । अहिलेपनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।
सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने छ । साथै प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार बुधबार पनि देशभर पानी पर्नेछ । बिहीबारदेखि मौसम सफा रहनेछ । महाशाखाले देशभर वर्षा र हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS