काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले युवाविहीन बनाउने भए यसको औचित्य नहुने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा बाहिर गइरहेका छन् । बाहिर गएर पनि कहाँ सुख पाउनु, त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ । युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ? हामी युवाविहीन हुँदैछौँ । सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ । मृत्यु भयो भने लाश लैजान मान्छे छैन ।’
सांसद भण्डारीले नेताहरूले भाषण मात्रै गरेको आरोप लगाउँदै भाषण गरेर मात्रै देश नबन्ने बताए ।
उनले भने, ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ? मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ ।’
उनले देश बनाउन सकिने भए पनि देशमा बेथिति बढेको र राजनीतिक नेतृत्व सही नभएको बताए । उनले बजेटमा विनियोजन गरिएको रकम सही ठाउँमा नरहेको बताउँदै काम गर्न नसके राजीनामा दिन आग्रह गरे ।
सांसद भण्डारीले विश्वमा विकासको प्रतिस्पर्धा भए पनि नेपालमा भने गरिबी बढाउने प्रतिस्पर्धा बढेको टिप्पणी गरे ।
FACEBOOK COMMENTS