काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राविधिक शिक्षा आर्थिक र सामाजिक परिवर्तनको इञ्जिन रहेको बताएका छन् ।
आज (मङ्गलबार) आफू अध्यक्ष रहेको आईएमई ग्रुप र ईएक्सआई कर्पको लगानीमा काठमाडौँको धुम्बाराहीमा सञ्चालनमा ल्याइएको काठमाडौँ टेक्निकल स्कुलको उद्घाटन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।
उनले काठमाडौँ टेक्निकल स्कुल त्यही परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गरे । रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न यो स्कुल सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।
अबको शिक्षाको मोडल प्राविधिक हुनुपर्ने र यसले युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर देशमै केही गर्न सक्षम बनाउने खालको हुनुपर्ने ढकालको धारणा छ ।
काठमाडौँ टेक्निकल स्कुलले युवाहरूलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको, जसले उनीहरूलाई विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरू सिर्जना गर्ने उनले बताए ।
FACEBOOK COMMENTS