काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।
आज बुधबार होटेल याक एण्ड यतीमा आयोजित महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान एवम् सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको मनोबल उच्च राख्नुपर्ने बताएका हुन् ।
विभिन्न विधामा उद्योगी–व्यवसायीहरूलाई सीआईपी सम्मान प्रदानपछि सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीहरूको मनोबल उच्च राख्नकै लागि सरकारले सीआईपी सम्मान प्रदान गर्न थालेको बताए । ‘यो सम्मानका लागि सम्मान मात्रै होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौँ,’ मन्त्री भण्डारीले भने, ‘निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसैले देशको समृद्धिका लागि सहकार्य गरेर हामी अगाडि बढ्न चाहन्छौं ।’
त्यस अवसरमा उनले देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने विश्वास व्यक्त गरेका छन् । सीआईपी सम्म्मानले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्दै निर्यात प्रवर्द्धनमा थप प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ ।
नेपाल सन् २०२६ मा एलडीसी ग्राजुएशनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।
सरकारले बुधबार ३० वटा व्यावसायिक संस्था तथा कम्पनीहरूलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सीआईपी’ प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा बुधबार काठमाडौंमा भएको विशेष समारोहमार्फत मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ ।
सीआईपी प्राप्त गर्नेहरूमा निजी क्षेत्रका प्रतिनिधिमूलक नौ वटा संस्था र २१ वटा व्यावसायिक फर्म तथा कम्पनी छन् ।
निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ ।
यो पनि पढ्नुहोस्–
सरकारद्वारा ३० व्यावसायिक संस्था तथा कम्पनीहरूलाई सीआईपी सम्मान प्रदान (विवरणसहित)
‘सीआईपी सम्मान’ले उद्योगी–व्यवसायीलाई प्रोत्साहित गरेको छ : चन्द्र ढकाल (भिडिओ)
FACEBOOK COMMENTS