काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना (पीएसपीपी)को स्वागत गर्दै त्यसले देशको आर्थिक उन्नयनमा योगदान पुग्ने बताएका छन् ।
शनिबार भैरहवामा भएको उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको आठौँ सभामा उनले यस्तो बताएका हुन् ।
उक्त योजना निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई निजी क्षेत्रले सकारात्मक ठानेको बताए ।
’हामीले वर्षौँदेखि निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि ठोस कार्ययोजनाको माग गर्दै आएका थियौँ,’ उनले भने, ’सरकारले हाम्रो प्रस्तावलाई स्वीकार गरेकामा हामी आभारी छौँ ।
शिक्षण संस्थालाई ‘शान्ति क्षेत्र’ घोषणा गरिए जस्तै निजी क्षेत्रलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरूबीच कार्यगत एकता अपरिहार्य भएको बताए ।
