काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखे ।
अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए । ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैर आवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गरे ।
नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताए । आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरु विदेशमा गेएर सफलता प्राप्त गरेको बताए । ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’
FACEBOOK COMMENTS