अष्ट्रेलिया । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपाली (एनआरएन)हरूलाई आह्वान गरेका छन् ।
नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको बताएका हुन् ।
ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताउँदै भने, ‘नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ । लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सृजना गर्न पहल गरेको छ ।’
महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रूपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै यसले नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने बताए । अध्यक्ष ढकालले यस कम्पनीमा शेयर लगानी गर्दै नेपालको विकास र सम्मृद्धिमा हातेमालो गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरे ।
उनले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गर्न जोड दिए । कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत उनले बताए ।
यसैगरी, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताए । नेपाली बैंकहरू नेपाल राष्ट्र बैंकको रेगुलेसनमा रहेको बताउँदै नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मक रूपमा बढी ब्याज पाइने उनको भनाइ छ ।
साथै उनले ग्लोबल आईएमई बैंकले गैरआवासीय नेपालीहरूलाई बैंकिङ प्रणालीमार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनका लागि अष्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराउने बताए । कार्यक्रममा २०० भन्दा बढी गैरआवासीय नेपालीहरूको सहभागिता थियो ।
FACEBOOK COMMENTS