काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालले नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई लगानीमैत्री र उद्योगी–व्यवसायीको मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
हिजो मंगलबार गभर्नर नियुक्त भएका पौडेललाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज बुधबार राष्ट्र बैंकमै गएर भेट गरी सो सुझाव दिएको हो । त्यस क्रममा अध्यक्ष ढकालले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताए ।
‘चालु आर्थिक वर्षमा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैरमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ,’ अध्यक्ष ढकालले भने, ‘नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ । केन्द्रीय बैंकका नीतिहरू पनिन स्थिर हुन आवश्यक छ ।’
देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले विप्रेषण आप्रवाह खुला र सहज बनाउनुपर्ने सुझाव पनि गभर्नर पौडेललाई दिएका छन् । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको मुख्य कारण चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन रहेको उल्लेख गर्दै त्यसलाई क्षेत्र हेरेर सहज बनाउनुपर्नेमा जोड दिए ।
महासंघले विगतका वर्षहरूमा उच्च व्याजदरका कारण व्यवसायी एवम् सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालू आर्थिक वर्षमा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि गर्भनर पौडेललाई दिएको छ ।
यस्तै, महासंघको प्रतिनिधिमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कजा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।
उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था हो ।
FACEBOOK COMMENTS