काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई आज मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताएका हुन् ।
आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उनको भनाइ थियो ।
अध्यक्ष ढकालले जेन्जीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रूपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिएका छन् ।
‘हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौँ । भाद्र २३ र २४ गतेपछिको जेन्जी आन्दालदन पछि सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ,’ उनले भने । यद्यपि, वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रूपमा लिएको उनले बताएका छन् ।
उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसँगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा व्यक्त गरे ।
यसतो छ, महासंघका अन्य पदाधिकारी र सेजनको धारणा
सो अवसरमा महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरूमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए । नेपालमा भएका पछिल्ला केही घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने उनको भनाइ थियो ।
त्यस्तै, महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुन:स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको चर्चा गरे ।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैं खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका वियषमा पैरवी गर्दै आएको बताए । महासंघ र सेजनबीच लामो समयदेखि सहकार्य रहँँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिए ।
महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।
FACEBOOK COMMENTS