काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ढकालले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निजी क्षेत्रको तर्फबाट बधाई तथा धन्यवाद व्यक्त गरेका छन् ।
भेटका क्रममा ढकालले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गरी चुनावी सरकारलाई सत्ता हस्तान्तरणको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी पूरा गरेकोमा प्रधानमन्त्री कार्कीको नेतृत्वप्रति निजी क्षेत्रले प्रशंसा गरेको बताए ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्ने क्रममा एफएनसीसीआईले पुर्याएको रचनात्मक सहयोगको प्रशंसा गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको अध्यक्ष ढकालले जानकारी दिए । उनका अनुसार भेटवार्तामा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
निजी क्षेत्रका प्रतिनिधिहरूले स्थिर नीति, लगानीमैत्री वातावरण र आर्थिक गतिविधि विस्तारमार्फत समग्र आर्थिक वृद्धिलाई गति दिन सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको ढकालले बताएका छन् ।

अध्यक्ष ढकाल र प्रधानमन्त्री कार्कीबीचको भेटवार्ताले आगामी दिनमा सरकार र निजी क्षेत्रबीच आर्थिक सुधार, लगानी विस्तार तथा औद्योगिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ हुने सङ्केत दिएको व्यवसायीहरू बताउँछन् ।

FACEBOOK COMMENTS