काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इन्टरनेशनल अर्गनाइजेशन अफ इम्प्लोयर्स (आईओई) र विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् ।
स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा अध्यक्ष ढकालले रोजगारदाताहरूको अन्तर्राष्ट्रिय सङ्गठन आईओई र डब्ल्यूटीओका उच्च अधिकारीसँग भेटवार्ता गरेका हुन् । परिवर्तित आर्थिक परिदृश्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवम् बजार पहुँचका विषयमा अन्तर्राष्ट्रिय संस्थाहरूसँग छलफल गरेका हुन् ।
आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेनसँग भएको छुट्टाछुट्टै भेटवार्ताका अवसरमा उनले नेपालभित्र भएका लगानीका सभावना र दुवै संस्था आईओई र डब्ल्यूटीओसँगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा विस्तृत छलफल गरेका छन् ।
आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदानप्रदान गर्न सकिने विचार व्यक्त गरे ।
उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँग आग्रह गरे । अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
उनले आईओईसँगको सहकार्यले नेपाली रोजगारदाताहरूलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गरे ।
सो अवसरमा आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशील सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा गरे । आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैं तयार रहेको विश्वास उनले व्यक्त गरे ।
सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेनसँग पनि बेग्लै भेटवार्ता गरेका छन् । भेटमा उनले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे चर्चा गरे । सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे । तर, नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न सक्ने बनाउन प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गरे ।
‘एलडीसी ग्राजुएशनको विषय राष्ट्रिय गौरवको विषय भए पनि नि:शुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधाहरू गुम्दा साना तथा मझौला उद्यमहरू विशेष प्रभावित हुने सम्भावना छ । तसर्थ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न म आईओईसँग आग्रह गर्दछु,’ ढकालले भने ।
उनले विकसित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताए । डब्ल्यूटीओ अन्तर्गतका स्यानिटरी र फाइटो स्यानिटरी (एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताए । ‘भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैर–शुल्कीय अवरोधहरूले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्याइरहेका छन्,’ उनले भने ।
डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उनले थप सहयोगको आवश्यकता औंल्याएका छन् ।
भेटवार्ताका अवसरमा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेनले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तरर्राष्ट्रिय व्यापार प्रवर्द्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताए । भेटवार्ताका अवसरमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ र महासंघका कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS