काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा राजनीतिक स्थायित्व भए मात्रै आर्थिक अवस्था सुधार गर्दै अघि बढ्न सकिने बताएका छन ।
महासङ्घको ५९औँ वार्षिक साधारणसभामा स्वागत मन्तव्य व्यक्त गर्दै उनले देशको आर्थिक अवस्था असहज रहेको भए पनि सुधार असम्भव नरहेको बताए । त्यसका लागि राजनीतिक स्थायित्व आवश्यक रहनेमा उनको जोड छ ।
राजनीतिक स्थायित्व र त्यसको सन्देशका कारण नै २०७३ देखि ७५ सम्म तीन वर्श औशत ७.५% भन्दा बढी आर्थिक वृद्धि भएको चर्चा गर्दै उनले आर्थिक विकासमा सबै राजनीतिक दलको साझा धारणा बनाउनुपर्ने बताए ।
‘राजनीतिक स्थायित्व र त्यसको सन्देशका कारण २०७३ देखि ७५ सम्म तीन वर्ष औसत ७.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि भएको थियो । हामी चाहन्छौँ, कमसेकम आर्थिक विषयमा सबै दलको साझा धारणा बनाउनुपर्छ,’ उनले भने, ‘अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउन सकिन्छ । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु हुँदैन ।’
निजी क्षेत्रले वार्षिक १६ खर्ब रुपैयाँको पुँजी निर्माण गर्न सक्ने क्षमता राख्ने र सरकारले चार खर्ब मात्रै लगानी गरे पुग्ने धारणा उनले व्यक्त गरे ।
उनले भने, ‘अहिले अवस्था असहज छ तर सुधार असम्भव छैन । हामी सक्छाैँ । हामीले ठूलो आन्तरिक द्वन्द्वको सहज समाधान गर्यौँ । हामी ठूलो भूकम्पले तहसनहस बनाएको संरचनाबाट जुर्मुराएर उठ्यौँ । सहमतिमै संविधान जारी गरी स्थायित्वको बाटो समायौँ । कोभिडजस्तो महामारीबाट तङ्ग्रियौँ । हालको समस्या पनि हामी समाधान गर्छौँ । हामी दरिला छौँ । हामी विवेकी छौँ । हामी उद्यमी छौँ । मात्र हामीले अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नुपर्छ । यसलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । व्यवसायीलाई निर्बाध काम गर्न दिनुपर्छ । म फेरि पनि भन्छु, हामी सक्छौँ । हामीले नसके कसले सक्छ ? हामीले नगरे कसले गर्छ ?’
FACEBOOK COMMENTS