नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाबाट विधानबमोजिम तिन वर्ष अगाडीनै आगामि अध्यक्षको चुनाब जितेर वरिष्ठ उपाध्यक्ष हुदै अहिले स्वतः अध्यक्षको जिम्मेवारी सम्हालेका चन्द्रप्रसाद ढकाल मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे निकै चिन्तित छन् ।
समग्र परिस्थितिलाई मूल्याङ्कन गर्ने हो भने यतिखेर नेपालको अर्थतन्त्र सङ्कटको डिलमा पुगेको छ । यस्तो अवस्थामा मुलुकका सम्पूर्ण उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र त्यसको नेतृत्वमाथि चिन्ता र दबाब नहुने कुरै भएन ।
अहिले मुलुकका सम्पूर्ण आर्थिक गतिविधिहरू शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएका कारण उद्योगी तथा व्यवसायीहरू समस्यामा परिरहेको आभास गर्न सकिन्छ । सरकारी संरचनाभित्र विकास खर्च अत्यन्त न्यून छ । राजस्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन । नेपालको संविधान २०७२ ले निर्देशित गरेको तीन खम्बे अर्थनीति अनुसार सरकार, सहकारी र निजी क्षेत्र स्वयम् आज धरमराइरहेको अवस्था छ । जसले नेपालको अर्थतन्त्रलाई खतराको सङ्केत दिएको छ ।
सरकार सामान्य खर्च गर्नसक्ने अवस्थामा छैन । सामाजिक सुरक्षाका कार्यक्रम र पेन्सन कटौटीको ठूलो चर्चा छ । साथै आउँदो आर्थिक वर्षदेखि बहालवाला कर्मचारी र प्रहरीहरूलाई मासिक तनाखा दिन समेत सरकार असमर्थ रहेको चर्चाहरू व्यापक रूपमा चलिरहेका छन् । आमसञ्चारका माध्यमहरूमा आइरहेका यी र यस्ता विषयका कारण आम नागरिकको तल्लो तहसम्म चिन्ता बढेको छ । तर, सरकारका मन्त्रीहरूले भने बाहिर चर्चा भएजस्तो आर्थिक सङ्कट नआइसकेको बताउँदै आएका छन् । स्वाभाविक रूपमा अर्थतन्त्रमा समस्या देखिएको तर गम्भीर अवस्था भने सृजना नभएको उनीहरूको भनाइ छ । सुधार गरेर अर्थतन्त्रलाई सही बाटोमा फर्काउन सकिने अवस्था रहेकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको सरकारी पक्षको जिकिर छ ।
त्यसो त अर्थतन्त्रको तीन खम्बामध्येको एक निजी क्षेत्रले पनि मुलुकको अर्थतन्त्र ट्रयाकमा ल्याउन सकिने अवस्थामै रहेको बताइरहेको छ । अर्थतन्त्रसँग सम्बन्धित सबै सरोकारवालाहरूले बेलैमा बिचार पु¥याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन कुनै गाह्रो नभएको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । तर, वर्तमान समस्याको समाधानका निम्ति वृहत् राष्ट्रिय विमर्शको खाँचो रहेको उनको भनाइ छ । अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिदै उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको सङ्कटमोचनको रोडम्याप बनाउनुपर्ने बताएका छन् ।
नेपालको सानो अर्थतन्त्रलाई केही महिनाभित्रै लयमा फर्काउन सम्भव रहेको बताउँदै उनले यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने तर्क गरेका छन् । उनी भन्छन्, ‘वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्नेलगायत काम गरियो भने अर्थतन्त्र सुधार गर्न खास गाह्रो छैन ।’
प्रस्तुत छ, अध्यक्ष ढकालसँग कर्पोरेट खबरले गरेको कुराकानी ः–
नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्षमा निवाचित हुनुभएकोमा सबैभन्दा पहिला त तपाइँलाई बधाई अनि सफल कार्यकालको शुभकाना
यहाँलाई धेरै धेरै धन्यवाद । महासंघको २०औं अध्यक्षको रूपमा निजी क्षेत्रको विकास तथा समग्र अर्थतन्त्रमा योगदान दिन मेरो हरसम्भव प्रयास रहने छ ।
तपाईको प्राथमिकतामा पाँच काम रहेको भनेर भन्नुभएको थियो, त्यसमा साना तथा घरेलुको लागि कुनै प्राथमिकता नै देखिएन नि, किन ?
तपाइँले मिहिन तरिकाले हेर्नु भयो भने पाँच वटै प्राथमिकताले साना तथा घरेलु उद्यम व्यवसायलाई ध्यान दिएको छ । जस्तै पहिलो अर्थतन्त्रमा देखिएको सङ्कटको समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य नियामक निकायहरूसँंग महासंघले नजिकबाट सहकार्य गर्ने भनिएको छ । तपाइँलाई थाहै छ, अहिलेको सङ्कटबाट कोही अछुतो छैन ।
अझै साना तथा घरेलु उद्योग निकै प्रभावित भएका छन् । यस्ता उद्यममा सङ्कट थेग्ने क्षमता निकै कम हुन्छ । त्यसैले आर्थिक सङ्कटबाट सबैभन्दा प्रताडित क्षेत्र हो यो । व्याजदर कम गर्ने उपकरण ल्याउन नेपाल राष्ट्र बैंकलाई गरिएको अनुरोधलाई यसरी नै हेर्नुपर्छ । राष्ट्र बैंकले यसमा ध्यान दिदा ब्याजदर कम भयो भने साना तथा घरेलु उद्यमको कस्ट अफ प्रोडक्सन स्वतः कम हुन्छ । र, बजार पनि चलायमान हुदाँ वस्तु तथा सेवाको माग बढ्छ र यसको सिधा असर त्यो क्षेत्रमा परिहाल्छ ।
यसैगरी, आन्तरिक वा विदेशी लगानी प्रवद्र्धनमा सरकारले वातावरण बनाउन गरिने प्रयासले पनि यो क्षेत्रलाई सिधै सम्बोधन गर्छ । त्यसमा पनि दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ उठाएको छ । हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने ५ लाख भन्दा बढी युवाहरूलाई आन्तरिक र बाह्य रोजगारीमा जानु अघि दक्ष बनाउन जरुरी छ । यसले हाम्रा उद्योगमा रहेको दक्ष जनशक्तिको अभाव पूरा गर्नेछ भने वैदेशिक रोजगारीमा दक्ष जनशक्ति जाँदा उनीहरूको आम्दानी पनि धेरै गुणा बढाउन सकिन्छ । यो एजेण्डाबाट सबैभन्दा बढी फाइदा साना तथा घरेलु उद्योगलाई हुनेछ ।
वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने जस्ता कामलाई निरन्तरता दिने तपाईको आधार चाहिँ के हो ?
यहाँ तपाइँले पनि उल्लेख गर्नुभयो । महासंघले यी पाँचवटा प्राथमिकता कार्यान्वयन गर्न राज्यका सबै सरोकारवाहरू राजनीतिक दल, तिनै तहका सरकार, नियामक निकाय, निजी क्षेत्रका अन्य संघ सस्था र सरोकारवालाहरूसँग गहन छलफल तथा अन्तक्रिया थालेका छौँ । अहिले सम्मका भेटघाट तथा छलफलबाट हामी उत्साहित छौँ । जस्तै पहिलो अर्थतन्त्रमा देखिएको सङ्कटको समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य नियामक निकायहरूसँग महासंघले नजिकबाट सहकार्य गरिरहेको छ । यसैगरी, आन्तरिक वा विदेशी लगानी प्रवद्र्धनमा सरकारले वातावरण बनाउने कुरामा र, सरकार र निजी क्षेत्रले एक अर्कालाई आक्षेप लगाउने भन्दा लगानीको वातावरण बनाउन एक अर्कामा विश्वासको वातावरण बनाएर साझेदारी गर्ने कुरामा पनि प्रधानमन्त्रीदेखि अर्थमन्त्री समक्ष हामीले हाम्रा प्राथमिकताहरू प्रस्तुत गरेर छलफल गरेका छौँ । यसमा ठोस कार्यनीति बनाएर अघि बढ्ने कुरामा उहाँहरूले विश्वास दिलाउनु भएको छ ।
यसैगरी, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउने विषयलाई पनि महासंघले महत्वका साथ उठाएको छ । अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउने गरी प्रोटोकल निर्धारणमा कन्जुस्याइँ गर्नु पर्ने कारण नभएकोले यसमा सरकारको सहयोग हुनेमा विश्वस्त छौँ । यी प्राथमिकताहरूले हाम्रो भन्दा पनि निजी क्षेत्र र समग्र देश विकासको एजेण्डा भएकाले नै यसलाई अघि बढाउन सकिन्छ भन्ने आधार हो ।
तपाई तीन वर्षअघि वरिष्ठ उपाध्यक्ष हुँदा महासंघलाई एक ढिका बनाउँछु भन्नु हुन्थ्यो । अब आफ्नो नेतृत्वमा महासंघ छ अब कसरी बनाउनुहुन्छ त एक ढिक्का ?
नेतृत्व चयनमा प्रतिस्पर्धा हुनु बिशुद्ध प्रजातान्त्रिक प्रक्रिया भएकाले यसलाइ हामीले आत्मसाथ गरिसकेका छौँ । तपाइलाई थाहै छ तत्कालीन अध्यक्षका उम्मेदवारले अर्कै प्यानल बनाए पनि हामीले निजी क्षेत्रको विश्वास जितेर म तीन वर्षअघि वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको थिएँ । निर्वाचित भए लगत्तै निर्वाचन अघिका सबै तिक्तता विर्सेर एकतावद्ध ढङ्गले अघि बढ्छु भनेर मैले उद्घोष गरेको थिएँ । र त्यो कार्यकालको अवधिमा तत्कालीन अध्यक्षसँग महासंघ र निजी क्षेत्रका एजेण्डालाई एक साथ मिलेर अघि बढायौँ । अहिले पनि अध्यक्षको रूपमा मैले कुनै प्यानललाई प्रत्यक्ष या परोक्ष ढङ्गले अघि सारिनँ । त्यसैले साथीहरू प्रजातान्त्रिक प्रक्रिया पूरा गरेर र केही सहमतिसहित यो टीम बनेको छ । निजी क्षेत्रको समग्र विकास, संरक्षण र पवद्र्धनमा हामी सबै एकै ठाउँमा हुनेछौँ । हामी सबैका साझा एजेण्डा यिनै हुन् । यसमा कसैको पनि विमति रहन्छ जस्तो मलाई लाग्दैन ।
महासंघको छवी सुधार्न कस्तो योजना बनाउनुभएको छ ?
आर्थिक सङ्कटबाट जोगिँदै उच्च तथा दिगो वृद्धिदरतर्फ अघि बढ्न आत्मविश्वासका साथ तथ्य÷तथ्याङ्कसहित तीन तहका सरकार र राज्यका नियमनकारी निकायहरूसँग बलियो नीतिगत लबिङ तथा सहकार्य गरिने छ । सरकारले अर्थतन्त्रको नीतिगत र संरचनागत सुधार गर्ने घोषणा गरेका सन्दर्भमा महासंघले सरकार तथा राज्यका निकायहरूलाई दिने सुझाव तथा मागहरूलाई गहन ढङ्गले राख्नु पर्ने छ । सँगसँगै उद्योग व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन नियमहरू संशोधन गरेर सुधारका प्रयास थाल्दा वा नयाँ नीति तथा कानून तर्जुमा गर्दा सुरूवाती चरणदेखि नै महासंघ सहभागिता सुनिश्चित गरिनुपर्छ भन्ने महासंघको दृढ धारणा छ ।
त्यसैले अर्थ राजनीतिका राष्ट्रिय मुद्दाहरूमा गहन संवाद, फ्लागसिप कार्यक्रमहरू तथा त्यस्ता कार्यक्रमहरूमा संस्थागत सहभागीतालाई वृद्धि गरिने छ । सँगसँगै अर्थतन्त्र र निजी क्षेत्रका प्रमुख मुद्दाहरूमा अनुसन्धान टोलीलाई संलग्न गरेर तयार पारिएका तथ्यपरक टिप्पणी तथा नीतिगत सुझावहरूको विभिन्न माध्यममार्फत बहुआयामिक प्रस्तुती गरिने छ । समग्र अर्थतन्त्रसहित उद्योग वाणिज्य क्षेत्रका कोर विषयहरूमा रणनीतिपत्रहरू तयार गरी नीतिगत पृष्ठपोषण तथा सार्वजनिक मञ्चहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिने छ । सँगसँगै सम्मानित निजी क्षेत्र÷अवधारणाको कार्यान्वयन गरिने छ । निजी क्षेत्रको प्रोटोकलका लागि प्रयास गरिने छ । यसमा सफलता हासिल हुने विश्वास छ । निजी क्षेत्र तथा व्यावसायिक सम्मान बढाउन जनस्तर लक्षित कार्यहरू पनि सञ्चालन गरिने छ । व्यवसायीको सम्मान बढाउन व्यावसायिक आचारसंहिता परिमार्जनको प्रक्रियालाई पूर्णता दिइनेछ । यी सबै कार्यले महासंघको छवि उच्च र उज्यालो हुने छ ।
तपाइँको अबको एजेन्डा के के हो ?
मैले अघि नै भनिसकेँ तीन वर्षका पाँच प्राथिमकताहरू छन् । यसकै आधारमा महासंघले काम गर्छ । महासंघले आवश्यकता अनुसार अन्य एजेण्डाहरूले पनि अघि सारेर तार्किक निष्कर्षमा पु¥याउने नै छ ।
तपाइँले कोरोना कालमा अर्थतन्त्र पनि जोगाऔँ भन्नु भएको थियो । तर, त्यो कालदेखि अहिलेसम्म अर्थतन्त्र त जोगिएको छ र ?
कोरोना काल यता आर्थिक पुनःउत्थान सुरू भए पनि लगत्तै सुरू भएको रसिया युक्रेन युद्धले विश्वव्यापी रूपमै आर्थिक सङ्कट गहिरिन पुग्यो । धेरै देशको आर्थिक वृद्धिदर सुस्त भयो भने विश्वव्यापीरूपमै आपूर्ति प्रणाली खल्बलिन पुग्यो । यस्तो विश्वव्यापी आर्थिक सङ्कटको बाछिटाले हाम्रो देशको अर्थतन्त्र पनि विषम् परिस्थितिबाट गुज्रिन पुगेकै हो । सङ्कट टार्न अघि बढाइएका कतिपय उपायहरू कडा हुँदा हाम्रो अर्थतन्त्रमा बढी नै चाप परेको हो । यसलाई समयक्रममा लचिलो बनाउन थालेको देखिन्छ । यसबाट अर्थतन्त्रमा केही सुधार देखिन थालिसकेको छ । जस्तै, वैदेशिक मुद्राको सञ्चितिमाथिको दबाब केही कम भएको छ । हाल ११ महिना बढीको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ । शोधनान्तर बचत छ भने रेमिटेन्स आप्रवाहमा वृद्धि देखिन्छ । पर्यटक आगमनमा पनि वृद्धि भएको छ । यसरी अर्थतन्त्रको वाह्य क्षेत्रमा देखिएको दबाब कम हुँदा समग्र अर्थतन्त्रमा धेरै राहत महसुस भएको छ । आन्तरिक र वास्तविक क्षेत्रमा परेको नकारात्मक असर कम गर्न हामिले निरन्तर सुझाव र सहकार्य गरिरहेका छौँ ।
महासंघभित्र चर्को रूपमा राजनीति चलिरहेको छ, खासमा महासंघमा किन यसरी राजनीति हुन्छ ?
महासंघको हालै सम्पन्न साधारण सभामा प्रजातान्त्रिक प्रक्रिया पूरा गरेर र केही सहमतिसहित नयाँ टीम बनेको छ । तपाइँले भनेको राजनीति के हो ? मैलेचाहिँ बुझिन र अरु टिप्पणी गर्न पनि चाहिन ।
महासंघको नेतृत्व एक स्वयम्सेवी संस्था हो, तर यहाँ आउन किन यसरी राजनीति हुन्छ ?
महासंघ देशभरिका उद्यमी व्यवसायीहरूको प्रतिनिधिमुलक अग्रणी संस्था हो । व्यवसायीहरू यसको नेतृत्वमा आउनु र आउन खोज्नु स्वाभाविक प्रक्रिया हो । यसले देशको कानून तथा व्यवस्था मानेर र त्यस्तै संस्कृति अँगालेको छ । हाम्रो देश एउटा प्रजातान्त्रिक व्यवस्था भएकाले पनि महासंघको नेतृत्व चयनमा हुने निर्वाचनलाई गलत राजनीतिको रूपम बुझ्नु भन्दा पनि प्रचलित प्रजातान्त्रिक अभ्यासको रूपमा बुझ्नु उपयुक्त होला ।
FACEBOOK COMMENTS