काठमाडौं । चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल कम्पनी मेरिअट इन्टरनेसनलसँग सहकार्य गर्दै विश्वप्रसिद्ध लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल भित्र्याउने घोषणा गरेको छ ।
करिब १५ अर्ब रुपैयाँ लगानी रहने यो परियोजना नेपाली आतिथ्य क्षेत्रमा ठूला लगानीमध्ये एक मानिएको छ ।
ठमेलस्थित दरबारमार्ग नजिक करिब ९ रोपनी क्षेत्रफलमा निर्माण हुने परियोजनामा १५० कोठासहितको अल्ट्रा–लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो समावेश गरिनेछ । सन् २०२९ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनामा सीजी हस्पिटालिटी ग्लोबलसँगै निजी क्षेत्रका विभिन्न लगानीकर्ताहरूको समेत सहभागिता रहेको छ ।
होटल सञ्चालनमा आएपछि प्रतिरात कोठाको शुल्क एक हजार अमेरिकी डलरभन्दा माथि रहने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यस परियोजनालाई नेपालमा विश्वस्तरीय आतिथ्य सेवा विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यसले रोजगारी सिर्जना, विदेशी लगानी आकर्षण र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउनेछ ।

हाल सीजी हस्पिटालिटी ग्लोबलले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै १२ देशका १३० भन्दा बढी गन्तव्यमा २३० होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ । चौधरी ग्रुपले नेपालको अर्थतन्त्रमा ठूलो करदाताका रूपमा योगदान दिँदै आएको छ ।

FACEBOOK COMMENTS