काठमाडौँ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका अध्यक्ष अखिल कुमार चापागाईंसहित १९ सदस्यीय एक प्रतिनिधिमण्डल १६ फेब्रुअरीदेखि २४ फेब्रुअरीसम्म ब्राजिल भ्रमणमा जाने घोषणा गरेको छ ।
नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पुर्याउने उद्देश्यले सो भ्रमण टोलीले ब्राजिलको साओ पाउलो सहर र रियो दि जेनेरियोको भ्रमण गर्ने जनाइएको छ । उक्त अवसरमा एक विशेष समारोहको आयोजना गरी ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई विदाई गर्ने जनाइएको छ ।
उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ । सो भ्रमण प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरूः विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।
भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू र ब्राजिलियन एसोसिएसन अफ होटेल इंडस्ट्रीजका उद्यमीहरूसँग भेटका साथै नेपाल र ब्राजिलबिचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् ।
एनबीसीसीआई नेपाल र ब्राजिलबिचको व्यापार, लगानी र सहकार्यलाई प्रर्वद्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
