काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन् ।
प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता आचार्य नेपाली कांग्रेससँगको गठबन्धनबाट साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका हुन् ।
कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चितप्रायः छ ।
मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा सहभागी ११ राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जनता समाजवादी पार्टी (जसपा) का २, जनता समाजवादी पार्टी (जसपा) नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।
लुम्बिनी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक-एक जना गरी १७ सांसद प्रतिपक्षमा छन् ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा बहुमतका लागि ४४ सांसद संख्या आवश्यक छ ।
FACEBOOK COMMENTS