पोखरा । नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेट गरेकाछन् ।
पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । सो क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा सञ्चालन भइरहेका विभिन्न परियोजनाको प्रगति बारे जानकारी गराउँदै केही नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
जर्मन सहयोगमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको जिआइजेडको सहयोगमा तयार गरिएको पाँच वर्षे नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको पनि उनले उल्लेख गरेका छन् । योजना अनुसार गरिबी न्यूनीकरण र वैकल्पिक ऊर्जाको प्रयोग बढाउन थप सहकार्यका लागि आफूहरू तयार रहेको उनको भनाइ छ ।
यसैगरी आचार्यले पोखरामा पर्यटन पूर्वाधार विकास, सांस्कृतिक आदानप्रदान तथा जर्मनीका सहरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्न इच्छा व्यक्त गर्दै यसका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन् । उनले पोखरा–जर्मनीबीच अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि समेत सहयोग गर्न अनुरोध गरेका छन् ।
जवाफमा राजदूत भोल्जले पहिलो पटक पोखरा भ्रमण गर्दा सहर निकै सुन्दर लागेको बताए । हिमालको काखमा अवस्थित पोखराको विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा सहकार्य गर्न सकिने उनले उल्लेख गरेका छन् ।

नेपाल र जर्मनीबीचको कूटनीतिक सम्बन्ध दीर्घकालीन सहकार्यमा आधारित रहेको बताउँदै ऊर्जा दक्षता, वातावरण सुधार र पर्यटन प्रवद्र्धनमा थप सहकार्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

भेटवार्तामा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना लगायतको सहभागिता रहेको थियो ।

FACEBOOK COMMENTS