काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ ।
आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेका हुन् । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् । मुख्यमन्त्री यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए । गत कात्तिक २३ गते तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
तर उनको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुख्यमन्त्रीको लफडापछि प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता गरेको छ भने सभामुख रामचन्द्र मण्डल पनि हटिसकेका छन् ।

यो पनि पढ्नुस्-

मधेस प्रदेश सभा बैठक मन्त्री उपस्थित नभएपछि स्थगित

FACEBOOK COMMENTS