सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ की प्रनिशा वाइबा तीन सन्तानकी आमा हुन् । दुई छोरी एक छोराकी आमा प्रनिशा भने भर्खरै २२ वर्षकी भइन् । गाउँकै प्रकाशकुमार थिङसँग १४ वर्षको उमेरमा भागी विवाह गरेकी उनको सात र तीन वर्षीया छोरी र ६ वर्षका छोरा छन् । शारीरिक र मानसिक रूपमा परिपक्व नभई सानै उमेरमा विवाह गरेका प्रनिशा र प्रकाशले न त परिवारको योजना बनाउन भ्याए न त भविष्य नै ।
बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व भएको खानेकुरा खुवाउने खाने तरिका र सरसफाइ सम्बन्धमा राम्रो जानकारी नहुँदै तीन सन्तान हुर्काउँदै छन् । २२ वर्षमै तीनवटा सन्तान होला भन्ने उनीहरूले सोचेका थिएनन् ।
‘हामीलाई सल्लाह दिने पनि कोही भएनन् । जे हुन्थ्यो, भइहाल्यो, हामी अहिले खुसी छौँ । अब उनीहरूलाई राम्रो लालनपालन र शिक्षा दिने हाम्रो कर्म हो’, प्रनिशाले भनिन् । माइती नजिकै भएकाले सन्तान हुर्काउन केही सजिलो भएको उनले बताइन् । उनीहरू खेती किसानबाट जीविकोपार्जन गर्छन् ।
कमलामाई नगरपालिका–३ चपौलीकी १९ वर्षीय अस्मिता नेपाली पनि काखमा बच्चा हुर्काउँदै छिन् । १६ वर्षमै विवाह गरी १७ वर्षमा बच्चा जन्माएको अस्मिताले सुनाइन् । सानैमा भागेर विवाह गरेकी अस्मितालाई बेलाबेलामा स्वास्थ्यमा गम्भीर समस्या पनि देखिने गरेको छ । १७ वर्षको उमेरमा आमा बनेकी अस्मिता भन्छिन्, ‘पहिला थाहा भएन सानै उमेरमा भागेर विवाह गरियो । अहिले महिनावारी समयमा नि हुन्न, डाक्टरले भनेअनुसार पाठेघरमा समस्या देखिएको छ ।’
शारीरिक रूपमा परिपक्व नभई आमा बन्ने प्रनिशा र अस्मिता मात्र होइनन् । जिल्लामा कम उमेरमा आमा बन्नेको संख्या धेरै छ । जिल्ला अस्पताल सिन्धुलीको तथ्यांक पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढ्दो देखिन्छ ।
अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७÷७८ मा ९२ जना १६ वर्ष देखि २० वर्ष मुनिका किशोरीहरूले प्रसूति सेवा लिएका छन् । यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो ।
जिल्लामा ३१ वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक भयावह रहेको अस्पताले जनाएको छ ।
कम उमेरमा आमा बन्दा आमा र बच्चाको ज्यान जोखिम हुने जिल्ला अस्पताल सिन्धुलीकी नर्सिङ प्रमुख रामेश्वर खायमलीले बताइन् । २० वर्षभन्दा अगाडि शरीर पूर्ण रूपले विकास भई नसकेको कारण बच्चा सानो जन्मिने, बच्चाको मानसिक विकास नहुने, रगत धेरै बग्नेलगायत समस्या आउने उनी बत्ताउँछिन् । खायमलीका अनुसार प्रजनन अङ्ग र पाठेघरको पूर्ण रूपमा विकास भई नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याइ राख्ने मांसपेशी कमजोर भई कतिपयको पाठेघर नै झर्ने पनि हुन्छ ।
विभिन्न निकायबाट वर्षौँदेखि बालविवाह रोक्न पहल भइरहे पनि बालिकाहरू आमा बन्दा पनि धेरैलाई चासो छैन । अशिक्षा, चेतनाको कमि, प्रविधि र गरिबीको कारण पनि जिल्लामा बालविवाह बढेको देखिन्छ । किशोरकिशोरी चाँडै निर्णय लिन तत्पर हुने स्वभावका हुन्छन् । यो उमेरमा राम्रो शिक्षा र अभिभावकको रेखदेख नहुँदा उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । सरकारले गाउँगाउँमा शिक्षा र सचेतना पु¥याउने नीति लिए पनि अहिलेसम्म बालविवाह घटेको छैन ।
गाउँघरमा बालिका आमा बन्ने संख्या ठूलो देखिएकाले स्वास्थ्य शिक्षा थप प्रभावकारी बनाउन आवश्यक रहेको बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गदै आएका रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेलले बताए ।
‘हामीले जिल्लाका विभिन्न पालिकामा बालबालिकाको क्षेत्रमा काम गरिरहँदा मुख्य समस्य बालविवाह रहेको पायौँ’, उनले भने, ‘किशोरी उमेरमा नै आमा बन्ने धेरै छन् । उनीहरूमा स्वास्थ्यसम्बन्धी चेतनाको पनि अभाव छ ।’
कम उमेरका आमाहरूले गर्भवती अवस्थामा पनि पोषणयुक्त खाना पाउँदैनन् । गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षण गर्दैनन् । अझ सहरबाट टाढा रहेका स्वास्थ्य संस्थाहरूमा उनीहरूको पहुँच रहन्न । यसको असर यी कलिला आमाहरूले ठूलो स्वास्थ्य जोखिम व्यहोरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले आफूहरूले बालविवाह न्यूनीकरण गर्ने कार्यक्रम गरिरहेको जानकारी दिए ।
कार्यालयले रेडियो, पत्रपत्रिका र अन्य कार्यक्रममार्फत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । उनले स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने आमाहरूलाई अवस्था हेरेर थप सचेतना र शिक्षामूलक जानकारी दिँदै आएको बताए ।
कार्यालयले दुर्गम क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सरकारले ग्रामीण क्षेत्रका महिलालाई सानैदेखि शिक्षा र स्वास्थ्यमा प्रभावकारी कार्यक्रम सञ्चालन नगर्ने हो भने पछिल्लो दिनमा मातृ मृत्युदर र कुपोषित बालबालिकाको संख्या अझ बढ्ने देखिएको प्रमुख शाहले बताए । अशिक्षा र चेतनाको कमिका कारण धेरै बालिका सानो उमेरमा आमा बन्ने गरेको उनको भनाइ छ ।
यस्तै सामाजिक र जातीय संस्कारले पनि बालविवाहलाई सघाएको देखिन्छ । खासगरी आदिवासी जनजाति, दलित र गरिब समुदायमा यसको प्रभाव धेरै रहेको विभिन्न अध्ययनहरूले देखाउँछ ।
यसैबीच बालविवाहले व्यक्तिगत घटना दर्ता र प्रशासनिक कार्य गर्न बाधा सिर्जना हुने कमलामाई नगरपालिकाका प्रशासकीय अधिकृत विशकसेन ढकाल बताउँछन् । विवाहदर्ता र छोराछोरीको जन्मदर्ता गर्न आउँदा नागरिकता नभएकाले प्रशासनिक क्षेत्रमा समस्या हुने गरेको ढकालले बताए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालविवाहको कारण जिल्लामा जबरजस्तीकरणीका मुद्दा बढी आइरहेको छ । जिल्लामा ०७७÷७८ मा ३४ वटा जवरजस्तीकरणीका मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ । सानै उमेरमा भागेर विवाह गर्ने र अभिभावकले थाहा पाएपछि जबरजस्तीकरणीमा जाहेरी दिने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोजकुमार लामाले जानकारी दिए ।
तर, प्रहरीमा बालविवाह कै मुद्दा भने कमै मात्रामा आउने गरेको देखिन्छ । १० महिनाको अवधिमा तीनवटा बालविवाहको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली अस्पतालमाको तथ्यांक हेर्ने हो भने एक वर्षमा ९२ जना २० वर्षभन्दा कम उमेरका किशोरीले प्रसूति सेवा लिएका छन् ।
मुलुकी संहिताअनुसार केटाकेटी २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । कमलामाई नगरपालिका कानुन अधिकृत टनक विक्रम कार्कीले यदि कसैले २० वर्षभन्दा अगाडी आफू खुसी विवाह गर्छ वा घर परिवारले नै विवाह गरिदिन्छ भने केटाकेटी र विवाह गरिदिने अभिभावक दुबैलाई तीन वर्षको कैद र २० हजार रुपैयाँ जरिवाना हुने र विवाह पनि बदर हुने कानुनी व्यवस्था रहेको जानकारी दिए ।
FACEBOOK COMMENTS