एजेन्सी । समुद्रमा पानी जहाजहरूको चाप बढ्दै गएको छ । यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । चीनका वैज्ञानिकहरूले एउटा नयाँ प्रविधियुक्त उपकरण विकास गरेका छन्, जसले पानी जहाजलाई चारैतिर ३६० डिग्रीसम्म हेर्न सक्ने सुविधा दिन्छ । यसले अँध्यारो, कुहिरो र खराब मौसममा पनि सुरक्षित रूपमा यात्रा गर्न सहयोग गर्छ ।
पुराना उपकरणहरूले केवल १२० डिग्रीसम्म मात्र देख्थे, जसले ‘ब्लाइन्ड स्पट’ बनाउँथ्यो । समुद्रका जहाजहरूमा ब्लाइन्ड स्पट भनेको त्यो क्षेत्र हो जहाँ क्यामेरा, रडार वा अन्य निगरानी प्रविधिले देख्न सक्दैनन् । यसको कारणले जहाजको चारैतिरका केही क्षेत्रहरू ‘अदृश्य’ बन्न सक्छन्, जसले दुर्घटनाको जोखिम बढाउँछ । उदाहरणका लागि परम्परागत पानी जहाजहरूमा यदि क्यामेराहरू केवल एक निश्चित कोणमा मात्र राखिएका छन् भने क्यामेराले देख्न सक्ने क्षेत्रको बाहिरी क्षेत्र ब्लाइन्ड स्पट हुन सक्छ ।
हरबिन इन्जिनियरिङ विश्वविद्यालयका डीन काई छेङताओका अनुसार यो नयाँ उपकरणले जहाजलाई सबै दिशा सजिलै देख्न सहयोग गर्छ । यसले अवरोध पहिचान गर्न सजिलो बनाउँछ र खराब मौसममा पनि यात्रा निरन्तर गर्न सकिन्छ ।
चौध वर्षको अनुसन्धानपछि बनाइएको यो चीनको पहिलो सबै मौसममा काम गर्ने, उच्च गुणस्तरको ३६० डिग्री दृश्य दिने प्रविधियुक्त उपकरण हो । यसमा ८ देखि १२ वटा क्यामेरा हुन्छन्, जसले देखिने र इन्फ्रारेड दुवै प्रकारको दृश्य समेट्छ । यस उपकरणको विशेषता भनेको सबै क्यामेराबाट आएको दृश्यलाई एकै साथ मिलाएर तुरुन्तै देखाउने क्षमता हो, जुन जहाजमै र टाढाबाट पनि हेर्न सकिन्छ ।
पछिल्ला तीन वर्षमा यस प्रविधिले सम्भावित दुर्घटनाहरू समयमै देखाएर रोक्न सफल भएको छ । अहिले यो ‘हाइतुन–१’ नामक अनुसन्धान जहाजमा प्रयोग भइरहेको छ । यसका साथै, बन्दरगाह निगरानी कार्यहरूमा पनि यसको प्रयोग भइरहेको छ । हाइतुन–१ भनेको चीनको एक अत्याधुनिक अनुसन्धान जहाज हो, जसले समुद्रको गहिराइ र वातावरणका विभिन्न पक्षहरूको अध्ययन गर्छ । यो जहाज चीनको समुद्री अनुसन्धानको प्रमुख हिस्सा हो र यसको प्रयोग अनुसन्धान, समुद्र सुरक्षा र अन्य महत्त्वपूर्ण समुद्री गतिविधिहरूमा भइरहेको छ ।
भविष्यमा यस्तो उपकरण वातावरण निगरानी र स्मार्ट यातायात क्षेत्रमा पनि प्रयोग गरिनेछ ।
FACEBOOK COMMENTS