एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि ‘पर्याप्त’ भन्सार शुल्क घटाउने सम्भावनाको सङ्केत गरेको एक दिनपछि वासिङ्टनसँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ भएको चीनले बताएको छ ।
आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारलाई थप राहत दिँदै ट्रम्पले मङ्गलबार अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै इरादा नभएको बताए । जनवरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनबाट आउने धेरै उत्पादनमा एक सय ४५ प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाए ।
यसमा सुरुमा फेन्टानिल आपूर्ति शृृङ्खलामा चीनको कथित भूमिकामाथि लगाइएको भन्सार शुल्क र पछि वासिङ्टनले अनुचित ठानेका अभ्यासहरू समावेश छन् । बेइजिङले अमेरिकी सामानहरूमा एक सय २५ प्रतिशतको व्यापक प्रति–भन्सार शुल्कका साथ प्रतिक्रिया दिएको छ, तर बुधवार व्यापार वार्तामा संलग्न हुन इच्छुक रहेको दोहो¥याएको छ ।
“चीनले भन्सार शुल्क युद्ध र व्यापार युद्धमा कुनै विजेता नभएको प्रारम्भिक रूपमा औँल्याएको थियो”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बेइजिङमा दैनिक पत्रकार सम्मेलनमा भने, “वार्ताका लागि ढोका व्यापक रूपमा खुला छ ।” चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार व्यापार युद्धले ‘सबै देशको वैध अधिकार र हितलाई कमजोर पार्छ, बहुपक्षीय व्यापार प्रणालीलाई चोट पु¥याउँछ र विश्व आर्थिक व्यवस्थालाई असर पार्छ’ भनी चेतावनी दिए ।

ट्रम्पले एक सय ४५ प्रतिशत ‘धेरै उच्च’ स्तर हो र त्यो ‘उल्लेखनीय रूपमा तल आउनेछ’ भनेर स्वीकार गरेपछि बेइजिङबाट यो पुनः पुष्टि आएको हो । “तिनीहरू त्यो सङ्ख्याको नजिक कतै पनि हुने छैनन् तर यो शून्य हुने छैन”, उनले भने “अन्ततः तिनीहरूले एउटा सम्झौता गर्नुपर्छ किनभने अन्यथा, तिनीहरू संयुक्त राज्य अमेरिकामा सम्झौता गर्न सक्षम हुने छैनन् ।”

अर्थमन्त्री स्कट बेसेन्टले मङ्गलबार एक कार्यक्रममा भन्सार शुल्कहरू पारस्परिक व्यापार प्रतिबन्धको मात्रामा पुगेको बताएपछि ती टिप्पणीहरू आएका हुन् । उक्त कार्यक्रममा रहेका एक व्यक्तिका अनुसार बेसेन्टले निकट भविष्यमा तनाव कम हुने अपेक्षा गरे । उनले प्रेसका लागि खुला नभएको जेपी मोर्गन चेसको आयोजनामा भएको कार्यक्रममा यस्तो विकासले बजारहरूलाई केही राहत दिनुपर्ने बताए ।