काठमाडौं । वाइल्डलाइफ टुरिजमको उत्कृष्ट गन्तव्यका रूपमा रहेको चितवनका होटेल र होमस्टेहरू अंग्रेजी नयाँ वर्ष मनाउनेले भरिए । चितवन राष्ट्रिय निकुञ्जभित्र अवलोलन गर्ने पर्यटकको संख्या पनि नयाँ वर्षले बढाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । उनका अनुसार चितवनको सौराहाबाट मात्र १५ र १६ गते गरेर चार सय ६३ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
भरतपुर र माडी क्षेत्रबाट निकुञ्ज अवलोकन गर्नेको संख्या पनि तुलनात्मक रूपमा बढेको छ । सामुदायिक वनमा दैनिक जिप र हात्ती सफारीका लागि पर्यटकले पालो नै कुर्नुपर्ने अवस्था आएको थियो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहासहित मेघौली, पटिहानी आएका पर्यटकहरू निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्छन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जिप, डुंगा सफारी हुने गरेको छ ।
क्षेत्रीय होटेल संघ सौराहका महासचिव गुणराज थपलियाका अनुसार एक हप्तादेखि क्रिसमस र नयाँ वर्षका लागि आएका पर्यटकले सौराहाका होटेल भरिएका छन् । चितवनका होटेलहरूले करिब १५ हजार मानिसको व्यवस्थापन गर्न सक्छन् । त्यसमध्ये सौराहाका होटेलको क्षमता ७० प्रतिशत छ । सौराहामा एक सय ६० हाराहारी होटेल छन् । चितवनमा जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । सौराहासँगै पटिहानी, जगतपुर, मेघौलीसँगै, माडी, देवघाट, सिंराइचुली, उपरदाङगढी, शक्तिखोर, जलबिरे झरना, छितामाईलगायत पर्यटकीय गन्तव्यमा पनि पर्यटकको राम्रो उपस्थिति छ । देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटका म्यानेजर राजेश आचार्यले नयाँ वर्षकै अवसर पारेर होटेलमा धेरै बुकिङ आएको बताए ।
पर्यटक गतिविधि बढाउन मेला र महोत्सव
पर्यटकीय गतिविधि बढाउन कोरोना महामारीपछि रोकिएको चितवनको हात्ती महोत्सव सौराहामा चार वर्षपछि पुन: सुरु भएको थियो । चितवन हात्ती तथा पर्यटन महोत्सवका रूपमा १७औँ संस्करणको हात्ती महोत्सव १० पुसदेखि १४ सम्म सञ्चालन भयो । नारायणगढको क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल एवं बृहत् सांस्कृतिक कार्यक्रम हुदाँ इच्छाकामना गाउँपालिकाले नयाँ वर्षमा नै सुन्तला प्रवद्र्धनका लागि सुन्तला महोत्सव आयोजना गरेको छ ।
पुस १६ गतेदेखि १८ गतेसम्म हुने महोत्सवले सुन्तला खान आउँदा यहाँका पर्यटकीयस्थलको समेत अवलोकन हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । यसबाहेक स्थानीय संघ–संस्था र होटेलहरूले पनि राष्ट्रिय र स्थानीय कलाकारहरू लाएर नयाँ वर्षमा पाहुनाको मनोरञ्जन र आगमन बढाउन कार्यक्रमको आयोजना गरेका थिए ।
FACEBOOK COMMENTS