चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा (म्याप) पनि राख्ने काम पनि गरिएको जानकारी दिए ।
निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवारीले बताए ।
मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेश द्धारलाई श्रंगार गर्ने काम गरिएको छ भने निकुञ्जको हेटक्वाटर कसरामा सरसफाई र रङ रोगनका कार्य भएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ ।
भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटकलाई निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउन मिल्ने कामलाई तीब्रता दिएको उनको भनाइ छ । निकुञ्ज जीप तथा हात्ती सफारीको लागि प्रख्यात मानिन्छ ।
यस्तै भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केजको निर्माण कार्य पनि पुरा भएको निकुञ्जले जनाएको छ । उद्धार केन्द्रकै कम्पाण्डमा गैँडालाई राख्न मिल्ने गरी तारबारको काम पनि अहिले भइरहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैँडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उदेश्यले चिडिया घर शैलीमा उद्धार केन्द्रलाई निर्माण गरिएको हो । निकुञ्जमा समय र परिस्थिति नमिलेको अवस्था वन्यजन्तु नदेखि सम्भावना रहन्छ । पर्यटकलाई बाघ र गैँडा देख्न पाईयो भन्ने आभाष दिलाउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुनको पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ ।
निकुञ्जले टिकटलाई अनलाईन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्रचार गरेको छ । भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाईन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए ।
FACEBOOK COMMENTS