काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
आफूलाई कहिलेकाहीँ गठबन्धनविरोधीको आरोप लाग्ने गरेको भन्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठले कांग्रेस-माओवादीसहितको गठबन्धनलाई जहिल्यै पनि सहयोग गरेको छ र कहिले गठबन्धनका उम्मेदवारलाई अपमान गर्ने काम गरेको छैन ।’
मनोनयन गर्न जानुअघि भएको सभामा बोल्दै उनले आफू चितवनको जनताको सेवक बन्नको लागि चुनावी मैदानमा होमिएको बताए । आफू चितवन-२ को सबै कुना कन्दराको बाटो कस्को घरमा पुग्छ, कुन ठाउँमा के समस्या छ भन्नेबारे जानकार भएको भन्दै श्रेष्ठले चितवन क्षेत्रमा पर्ने हरेक समस्यामा आफू समाधान बनेर उभिएको जिकिर गरे ।
‘मैले चाहेको भए व्यापार गर्न सक्थेँ, प्रोफेसर बनेर जागीर खानसक्ने हैसियतको व्यक्ति हुँ । तर, राजनीतिमार्फत समाजसेवा गर्ने भित्री इच्छाअनुसार दशकौंबाट काम गर्दै आएको छु । यो उपनिर्वाचनबाट जनताले एउटा काम गर्ने सेवकलाई जिताएर सांसद भवन छिराउने विश्वास छ’, उनले भने ।
उक्त क्षेत्रमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उम्मेदवारी दर्ता गराइसकेका छन्।
लामिछानको नागरिकता विवादमा कारण उक्त क्षेत्रमा उप निर्वाचन भएको हो। लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाली नागरिक नभएको घोषणा गरेपछि सांसद पद खारेज भएको थियो।
योसँगै निर्वाचन आयोगले उप–निर्वाचन घोषणा गरेको थियो। उक्त क्षेत्रमा मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए।
दोस्रो पटक विजयी हुने भन्दै लामिछानेले उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा श्रेष्ठलाई अघि सारेको छ।
FACEBOOK COMMENTS