वि.सं. २०५३ देखि हरेक दुई वर्षमा चितवन महोत्सव हुँदै आइरहेको छ । यसपटक १५ औं चितवन महोत्सवको अन्तिम तयारीमा पुगेका छौं । यही पुस २५ गतेदेखि माघको १० गतेसम्म चल्ने यो महोत्सवमा पर्यटन क्षेत्रलाई महत्त्वका साथ उठान गरिने छ । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ । महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कलासंस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने छन् ।
हाल सुस्त नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । यस वर्ष हामीले महोत्सवमा ४ सयभन्दा बढी स्टलहरू राख्ने तयारी गरेका छौं । महोत्सवमा २० भन्दा बढी चिनियाँ व्यवसायीहरूले पनि सहभागिता जनाउने र त्यसबाट नेपाली व्यवसायीले पनि सिक्ने र आफ्नो उत्पादनको बजार विस्तार गर्ने अवसर मिल्ने छ । त्यसैगरी चितवनको पर्यटनलाई केन्द्रित गरेर यसपटक पार्टी बस सञ्चालनमा जोड दिने आगन्तुक पाहुनाहरूलाई विभिन्न होमस्टे, होटेलहरूमा पुर्याउनका लागि सहजीकरण गरिने छ । अर्को महत्त्वपूर्ण कुरा भनेको महोत्सवमा ल्याइएका केराबाट खेर नजाने गरी केराको थम्बाबाट रेशम निकाली विभिन्न औद्योगिक उत्पादनमा ल्याउने तयारी रहेको छ । साथै शिक्षा र गोष्ठी क्षेत्रमा पनि तालिमलगायतमा सहभागी गराउने तयारी छ ।
महोत्सवको महत्त्व र आवश्यकता
पर्यटकहरूलाई आकर्षण गर्न होस् या कलासंस्कृति प्रवर्द्धन गर्न मेला महोत्सव पहिलो रोजाइ बन्दै गएको छ । स्थानीय उत्पादनको प्रचारप्रसार गर्न होस् वा बिक्री गर्न अथवा व्यापार बढाउन होस् या ब्रान्डिङ गर्न पनि औद्योगिक प्रदर्शनी र मेला महोत्सव हुने गरेको छ । कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधारको नारासहित गरिने मेला महोत्सवले मानिसमा घुमफिर गर्ने सोचको समेत विकास भएको छ ।
चितवन महोत्सवमा स्थानीय कलासंस्कृतिको जगेर्ना गर्ने र उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन, परम्परागत संस्कृति, ऐतिहासिक, धार्मिक धरोहरको चिनारी गराउने उद्देश्य रहेको छ । अर्कोतर्फ महोत्सवले आर्थिक विकास र पर्यटन व्यवसायको प्रवर्द्धन गर्नका लागि पनि सहयोग पुर्याउने छ । यो महोत्सवले व्यावसायिक कृषिको प्रवर्द्धन र उत्पादक, विक्रेता र ग्राहकबीचको सम्बन्ध वृद्धि गर्दछ । महोत्सवले स्थानीय सीप र प्रविधिको प्रवर्द्धन मात्र नभएर लगानीमैत्री वातावरणसमेत सिर्जना गर्दछ ।
महोत्सवमा पर्यटनका लागि स्टल र केही आकर्षक पर्यटकीयस्थलका तस्बिरहरूसमेत राखिएको हुन्छ । कतिपय जिल्लाका आयोजकहरूले पर्यटकहरूका लागि हेलिकोप्टरसमेतको सेवा दिएर दुर्गम ठाउँका पर्यटकीयस्थलमा समेत घुमाउने गर्दछन् । अर्कोतर्फ महोत्सव भएको ठाउँका स्थानीय पर्यटकीयस्थलहरू कुनकुन हुन् ? ती क्षेत्रका विशेषता केकस्ता छन ? र, त्यहाँ कसरी जान सकिन्छ ? त्यहाँ पुग्दा के कस्ता सेवाहरू पाइन्छ र कति खर्च गर्नुपर्छ भन्ने कुराको जानकारीसमेत मेला महोत्सवबाट पर्यटकहरूले प्राप्त गर्न सक्छन् । महोत्सवमा पुगेका इच्छुक पर्यटकहरूलाई प्याकेज बनाएर ती ठाउँमा घुमाएर ल्याउन सक्ने हो भने मेलामा जोडिएको पर्यटन महोत्सव भन्ने शब्दको सार्थकता हुन्छ । यही उद्देश्यलाई केन्द्रित गरेर यसपटक हामी फरक पक्षलाई समेट्दै चितवन महोत्सवको तयारीमा जुटेका छौं ।
महोत्सवमा धेरै वस्तुको एकीकृत व्यापारस्थलको रूपमा रहने र उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्कसमेत हुने हुँदा यसले वस्तुको बजारीकरण तथा उपभोक्ताको रूचि र प्रवृत्तिलाई आकलन गर्न पनि मद्दत गर्दछ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण र विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगीतिक कार्यक्रम पनि हुन्छन् । नयाँ वस्तुको परिचय र बजार पहुँच अनि त्यसमा उपभोक्ताको चासो र उत्सुकता बुझ्दै त्यस्ता वस्तुको बजार विस्तार गर्ने रणनीति र बजार विस्तार गर्नका लागि आवश्यक आधार पनि महोत्सवले प्रदान गर्ने छ । महोत्सवले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सक्छ ।
FACEBOOK COMMENTS