काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन् ।
महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे ।
आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गरे। समितिको बयानमा जबराले भने, “राजीनामा दिए हामी सहजीकरण गछौँ । फिर्ता लिन्छौँ । एक डेढ महिना तपाईं काम गर्नुस्, त्यसपछि दीपक कार्कीलाई दिए हुन्छ भनेर त पोलिटिकल पार्टीका नेताहरू मकहाँ आएकै हुन् । मैले यो सार्वजनिक रूपमा खोलेको छु । मैले त खोलेको छु । तर यति हदसम्म जाँदा आज न्यायालय त ध्वस्त भयो, फेरि राजनीति पनि ध्वस्त नहोस् । सोध्ने हो भने नेपाली कांग्रेसको डिनाजीलाई सोध्नुस् । प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो, हामी सबै फिर्ता लिन्छौँ । मिलाएर फिर्ता लिन्छौँ भन्नुभएको हो । मेरै क्वार्टरमा आएर भन्नुभएको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS