काठमाडौँ – कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ ।
हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो ।
कृष्णनगर नगरपालिकामा १८ असोजदेखि फैलिएको हैजा शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकासम्म पुगेको छ । यी स्थानका एक वर्षदेखिमाथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । ५ मंसिरमा यशोधरा गाउँपालिकाबाट हैजाविरुद्धको खोप अभियान सुरू गर्ने तयारी भइरहेको छ । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ ।
साढे दुई लाखलाई हैजाविरुद्धको खोप
विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि दुई लाख ५२ हजार तीन सय ६३ भाइल खोप उपलब्ध गराउने भएको हो । खोप आइतबार नै काठमाडौं आइपुगेको छ । जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । कोटाअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार सात सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार नौ सय तीन डोज खोप वितरण हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।
शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउनेसँगै नियन्त्रणका योजना पनि बनाएको हैजा प्रभावित शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।
खोप लगाउन चुनौतिपूर्ण
हैजा प्रभावित क्षेत्रमा खोप खुवाउनु निकै चुनौतिपूर्ण रहेको छ । मधेसी समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा स्वास्थ्य तथा सरसफाइलाई धेरै महत्व नदिने हुनाले खोप कार्यक्रम निकै चुनौतिपूर्ण हुने अनुमान छ । प्रभावित क्षेत्रमा खोप लगाउन प्रोत्साहन गर्न जिल्ला खोप समन्वय समितिले १४ योजना निर्माण गरेको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए ।
हैजाको उपचार गर्न अस्पताल आउने घटे
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । हैजाका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक छ । ‘केही दिन कम भएको थियो, तिहारपछि औसत ६ जना बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्, २८ कात्तिकदेखि उपचारका लागि आउने बिरामी शून्य रहेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताए ।
यता, ग्रामीण क्षेत्रका बस्तीहरूमा हैजाका लक्षण देखिएका बिरामी छिटपुट मात्र देखिने गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रका सामुदायिक परिचालक पृथ्वीपाल तेलीले बताए ।
FACEBOOK COMMENTS