हुम्ला । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको थियो । ढुवानीको जिम्मा पाएको कम्पनीले खार्पुनाथ गाउँपालिकामा थन्क्याइदिएपछि ती चुला बेवारिसे बनेका हुन् ।
खार्पुनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य जसमती शाहीले सिमकोट गाउँपालिकाका लागि ल्याइएका चुला आफ्नो घरछेउमा बेवारिसे अवस्थामा राखिएको बताए । “गत वैशाखमा ती ल्याइएका थिए । ती कसका लागि ल्याइएका हुन् भन्ने थाहा हुन सकेको छैन,” उनले भने ।
तीमध्ये ११७ थान खार्पुमा त्यत्तिकै मिल्काइएको छ भने २४० थाना ट्याक्टरमालिक कुल रावतले सिमकोट लगेको भए पनि हालसम्म कसैलाई दिएका छैनन् । उनले ती चुलो खार्पुबाट ट्याक्टरमा राखी सिमकोट ल्याउनुभएको थियो । ती चुला आफ्नो घरमा राख्नुभएको छ ।
उनले ती चुला ढुवानी गर्दाको भाडा र आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको गुनासो गर्दै भने, “जबसम्म ढुवानी भाडा र घरभाडा हात पर्दैन, तबसम्म चुला कसैलाई पनि दिइँदैन ।”
चुलामा ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा लक्षित वर्गमा वितरण’ भनी लेखिएको छ । चुला सिमकोट गाउँपालिकाका लक्षित वर्गका लागि ल्याइएको भए पनि कुुन वडा वा बस्तीका लागि ल्याइएका हुन् भन्ने यकिन भएको छैन । उता खार्पुमा खुला आकाशमुनि बेवारिसे बनाइएका चुला घामपानीका कारण खिया लागिसकेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS