काठमाडौँ । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति १२:१५ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका-१ का वडा अध्यक्ष फुनुरू शेर्पाले पुष्टि गरे ।
उनका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापतिसमेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्वगाविस अध्यक्षसमेत हुन् ।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
FACEBOOK COMMENTS