काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका एक कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस मागेको उजुरीपछि कारबाही गरिएको हो ।
टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । सो क्रममा स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँसमेत बरामद गरिएको छ ।
मस्राङगीबाट कुल ९२ हजार ६ सय रुपैयाँ नगद र तीन थान मोबाइल बरामद गरिएको आयोगले जनाएको छ । उनीलाई कार्यालय परिसरबाटै शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।