काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप एक पूर्वमन्त्री र बहालवाला सचिवविरुद्ध पनि अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ (पत्नी रेशम चौधरी) विरुद्ध हिजो बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले केही दिनभित्रै पूर्वमन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
पूर्वमन्त्री अधिकारी निवर्तमान सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री थिए । पोखरास्थित लिचिबारीको जग्गा घूस डिल र लेनदेनको अडिओ प्रकरणमा उनी पनि मुछिएका छन् । सोही प्रकरणमा अख्तियारले पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठविरुद्ध हिजो बुधबार मुद्दा दायर गरेको थियो ।
सरकार फेरिएसँगै सक्रिय बनेको अख्तियारले पछिल्लो समय ‘ठूला माछा’हरूविरुद्ध ‘एक्सन’ लिन थालेको हो । यसैक्रममा उल्लेखित व्यक्तिहरूका अलावा अरु धेरै उच्च अधिकारीहरूको अनुसन्धान र मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी अख्तियारले गरिरहेको स्रोतको दाबी छ ।
यसैबीच अख्तियारले भिजिट भिसा काण्डको पनि अनुसन्धान टुङ्गोमा पुर्याउन लागेको बताइएको छ । उक्त प्रकरणमा पहिलो चरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित केही कर्मचारी र बिचौलियाविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी छ ।
यो पनि पढ्नुहोस्–
केपी ओली क्याबिनेटका एक र अर्का एक मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
FACEBOOK COMMENTS