काठमाडौं । भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोग तथा निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला आज आउँदै छ ।
जेठ २ गते अन्तिम बहस सकेको सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि आज अन्तिम सुनुवाइ गर्न लागेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दामा माघ ३० गतेदेखि ‘हेर्दाहेर्दै’ मा राखेर निरन्तर सुनुवाइ गरेको थियो । त्यसअघि मुद्दा सुनुवाइले प्राथमिकता पाएको थिएन । नियुक्तिसम्बन्धी विवादका रिटमा प्रारम्भिक सुनुवाइको पालो नै एक वर्षभन्दा पछि मात्र आएको थियो । अन्तरिम आदेश जारी नहुने गरी २०७८ चैतमा आदेश भएपछि २०८१ माघसम्म विभिन्न कारणले सुनुवाइ नै भएको थिएन ।
संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० गते २० जना पदाधिकारी राष्ट्रपतिबाट नियुक्त भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो । नियुक्तमध्ये केही पदाधिकारीले अवकाशसमेत पाइसकेका छन् ।
असंवैधानिक रूपमा नियुक्ति दिइएको जिकिरसहित अधिवक्ता ओमप्रकाश अर्याललगायत सर्वोच्च पुगेका थिए । मूल र पूरक गरी १५ निवेदन एकसाथ विचाराधीन छन् । सबै निवेदनलाई ‘लगाउ’ मा राखेर संवैधानिक इजलासले सुनुवाइ गरेको थियो ।
अध्यादेशबाट कानुन संशोधन गरी बदनियतपूर्ण रूपमा पदाधिकारी सिफारिस र नियुक्ति भएको जिकिर निवेदकहरूको छ । यस्तै, संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ अनिवार्य रहेकामा उक्त प्रक्रिया पूरा नभएको दाबी पनि रिटमा गरिएको छ ।
तर, विपक्षीले भने प्रतिनिधिसभा नै नरहेको अवस्थामा संयुक्त संसदीय समितिले सुनुवाइ गर्न सक्ने अवस्था नरहेको दलिल गरेका छन् । रिटमा प्रारम्भमा नियुक्त भएका पदाधिकारीलाई विपक्षी बनाइएको थिएन । अदालतको आदेशले नै पदाधिकारीलाई विपक्षी कायम गरिएको थियो ।
फैसला जे आउँदा पनि अख्तियारका प्रमुख आयुक्त राईको हातमा ‘लड्डु’
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ व्यक्तिहरूबाट भएको भ्रष्टाचारमा ‘एक्शन’ लिइरहेको छ । भ्रष्टाचारमा ‘साना माछा’ लाई मात्रै सजायको भागीदार बनाएर ‘ठूला माछा’ लाई उन्मुक्ति दिने गरेको आरोप खेप्दै आएको अख्तियारले ‘हाइप्रोफाइल’ हरूविरुद्ध पनि ‘एक्शन’ लिइरहेको हो ।
अख्तियारमा हाल प्रेमकुमार राई प्रमुख आयुक्त छन् । उनीसहित संवैधानिक आयोग तथा निकायमा नियुक्त ५२ पदाधिकारीविरुद्ध नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा परेको मुद्दाको लामो समयपछि आज छिनोफानो हुँदै छ । मुद्दामा फैसला के आउँछ भन्ने विशेष चासो छ ।
कतिपयले अख्तियारका प्रमुख आयुक्त राईको नियुक्तिलाई सर्वोच्चले असंवैधानिक ठहर गरी बदर गर्न सक्ने भएकाले अख्तियारले भ्रष्टाचारीहरूविरुद्ध सक्रियता बढाएको हुन सक्ने तर्क गरिरहेका छन् । ‘हाइप्रोफाइल’ भ्रष्टचारीविरुद्ध अख्तियारले पछिल्लो समय लिएको ‘एक्शन’ लाई प्रमुख आयुक्त राईको साहसिक कदम भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
आफ्नो नियुक्ति नै बदर हुन सक्ने सर्वोच्चको सम्भावित फैसलालाई मध्यनजर गर्दै प्रमुख आयुक्त राईले अख्तियारबाट सुखद बिदाइको चाहनाअनुसार फैसलाको पूर्वसन्ध्यामा ‘हाइप्रोफाइल’ भ्रष्टाचारीविरुद्ध कडा कदम उठाएको हुन सक्ने पनि कतिपयको बुझाइ छ ।
सर्वोच्चले प्रमुख आयुक्त राईको नियुक्ति बदरभागी ठहर गरेमा राजनीतिक तथा सार्वजनिक वृत्तमा त्यसलाई सत्तापक्षको प्रतिशोध वा ‘हाइप्रोफाइल’ भ्रष्टाचारीहरूको बचाउका रूपमा व्याख्या गरिने सम्भावना छ । यसप्रकार, प्रमुख आयुक्त राईको नियुक्ति बदर भएमा समेत उनलाई लाभ नै मिल्ने देखिन्छ ।
अख्तियारले जेठ २२ गते मात्रै नेपालमा बहुदलीय व्यवस्थाकाे इतिहासमै पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पतञ्जलि योगपिठको जग्गा सट्टापट्टामा संलग्न भई भ्रष्टाचार गरेको आरोपमापूर्वप्रधानमन्त्रीसमेत रहेका विपक्षी दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरेको हो ।
सहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यसअघि अख्तियारले नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा हालेको थियो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध अख्तियारले जेठ १ गते टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।
‘ठूला माछा’ विरुद्ध कारबाहीको निरन्तरतामा अख्तियारले यसबीच भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुने गरेको मानव तस्करीविरुद्ध पनि ‘एक्शन’ लिएको छ । जेठ ७ गते त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियारले यसको पर्दाफास गरेको हो । यसबारे अहिले पनि अनुसन्धान जारी छ ।
यसबीच प्रदेशका सांसद, सरकारी स्वामित्वका कम्पनीका बहालावाला तथा अवकाशप्राप्त उच्चपदस्थहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सत्ता र शक्तिको आडमा चरम भ्रष्टाचार गरेर पनि उन्मुक्ति पाइरहेकाहरूविरुद्ध अख्तियारले देखाएको पछिल्लो सक्रियताको प्रशंसा भइरहेको छ । तर, यसले निरन्तरता पाउला वा नपाउला भन्ने प्रश्न भने कायमै छ । न्यायालयमा समेत राजनीतिक हस्तक्षेप तथा आर्थिक चलखेल गरेर मुद्दा प्रभावित पार्ने काम हुँदै आएको आरोप नयाँ होइन । राजनीतिक शक्ति तथा सत्ताको बलमा दबाब वा प्रभाव सिर्जना गरेर न्यायालयलाई नै प्रभावित पार्ने काम हुँदै आएको विषय सर्वविदितै छ । ‘ठूला माछा’ विरुद्धको कारबाही प्रयासमा यसलाई विफल पार्न हस्तक्षेप पनि ‘ठूलै’ हुन सक्छ । त्यसैले, प्रमुख आयुक्त राईको नियुक्ति बदर भएमा न्यायालयलाई नै दबाब वा प्रभावमा पारिएको शङ्का उब्जिन सक्छ । साथै, न्यायालय स्वयम् पनि प्रश्नकाे घेरामा पर्ने सम्भावना छ ।
यी समाचारहरू पनि पढ्नुहोस्–
संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीविरुद्धको मुद्दाको छिनोफानो आज
‘ठूला माछा’ विरुद्ध अख्तियारको ‘एक्शन’ मा २८ गते लाग्न सक्छ ‘ब्रेक’
FACEBOOK COMMENTS