काठमाडौं । गैरकानुनीरूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न रहेका ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई काठमाडौंको चागल र ललितपुरको दमकलचोकबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जियाहाहो, ४१ वर्षीय लिन डि, ३२ वर्षीय एक्सु झेंग, ३० वर्षीय लिउ झेक्सुआन र ३३ वर्षीय एक्सयू लिङहुआ छन् । पक्राउ परेका सबैमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरीका अनुसार उनीहरूको टोलीले ललितपुरको वाफिलस्थित दमकल चोकमा एउटा घर भाडामा लिई सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैरकानुनीरूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरी क्रिप्टो कारोबार गरिरहेको थियो । उनीहरूले काठमाडौंको चागलमासमेत उक्त कम्पनीको शाखा खोली नेपाली युवायुवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप्समार्फत अनलाइन स्क्याम तथा क्रिप्टो कारोबार गर्दै आएको थियो ।
उनीहरूको साथबाट साथ थान ल्यापटप र स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ नगदसमेत बरामद गरिएको साइबर व्युरोका प्रवक्ता एवम् सूचना अधिकृत प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
