काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले प्रभु बैंकमा छापा मारेको छ ।
गम्भीर आर्थिक अपचलनको जाहेरीमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका निम्ति आवश्यक कागजात छानवीनका क्रममा शुक्रबार बेलुकी छापा मारिएको सिआइबी प्रमुख एआईजी डा.मनोजकुमार केसीले जानकारी दिए ।
‘आवश्यक फाइल हाम्रो नियन्त्रणमा छ, नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानविन शुरू भएको छ’, एआईजी डा.केसीले भने,। ९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए ।
लामाको जाहेरीमाथि अनुसन्धान गर्न सरकारी वकिलले कार्यालयले गतवर्षको असोज ११ गते नै प्रहरी परिसर, काठमाडौंमा पठाएको थियोे । तर, परिसरले जाहेरीमाथि कुनै अनुसन्धान अगाडि बढाएको थिएन । उक्त मुद्दामा सिआइबीले हस्तक्षेप गरेपछि भट्टचन पक्राउ परेका हुन् । १८ करोडको ठगीमा अन्य व्यक्तिको संलग्नता खुलेको र संगठित अपराधको मुद्दा पनि चल्ने भएको सिआइबीस्रोतले जनाएको छ ।यो घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको र आवश्यक कानूनी कदम चालिने सीआईबीका अधिकारीहरुले बताएका छन्।
FACEBOOK COMMENTS