काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल निर्विरोध चयन दोहोरिएका छन् ।
आज सम्पन्न पाँचौ बार्षिक साधारण सभाले पौड्यालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा सचिव बाहेक सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन भएका छन् ।
सचिवमा थानेश्वर पौडेल निर्वाचित भएका छन् । सचिवमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका महेन्द्र कुमार गोयल प्रतिस्पर्धामा थिए । पौडेल ३२ मत पाएर विजयी भए ।
सिबिफिनमा अध्यक्ष उपेन्द्र पौड्याल (नबिल बैंक), वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक), उपाध्यक्षमा कुश प्रसाद मल्ली (रिलायन्स फाइनान्स) , महासचिवमा प्रचण्ड बहादुर श्रेष्ठ (हिमालयन बैंक), कोषाध्यक्षमा तुलसीराम अग्रवाल (एनआईसी बैंक), सह-कोषाध्यक्षमा गौरव बुढाथोकी (गोर्खा फाइनान्स) रहेका छन् ।
यस्तै सदस्यहरुमा राजाराम खड्का (कुमारी बैंक), डा बाल गोपाल वैद्य (एभरेष्ट बैंक), लिला प्रकाश सिटौला (प्रभु बैंक), मनोज कुमार गोयल (एनएमबी बैंक), डा चन्द्र बहादुर अधिकारी (नेपाल बैंक), राधेश पन्त (ग्लोबल बैंक), रमण नेपाल (लक्ष्मी सनराइज बैंक), सुदिप आचार्य (कामना सेवा विकास बैंक), चिन्तामणि भट्टराई (लुम्बिनी विकास बैंक) र लक्ष्मी प्रसाद मर्हजन (प्रोग्रेसिभ फाइनान्स) सर्वसम्मत चयन भएका छन् ।

सिबिफिनमा समूह ‘क’ अन्तर्गत पूर्वाधार बैंकसहित वाणिज्य बैंकबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष १–१ जना सदस्य ७ सहित १० जना रहने व्यवस्था छ । यस्तै समूह ‘ख’ अन्तर्गन विकास बैंकबाट वरिष्ठ उपाध्यक्ष १, सचिव १ र सदस्य २ सहित ४ जना रहने व्यवस्था छ । यस्तै समूह ‘ग’ अन्तर्गत वित्त कम्पनीबाट उपाध्यक्ष १, सहकोषाध्यक्ष १ र सदस्य १ सहित ३ जना रहने व्यवस्था छ ।
