काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ मा सातै प्रदेशका आफ्ना शाखाहरूमार्फत वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।
बैंकले वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभरका १४८ शाखा कार्यालयहरूबाट कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
बैंकका अनुसार कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरूबाट कार्यक्रम सञ्चालन गरिएको हो।
वित्तीय साक्षरताका यी कार्यक्रमहरूमा महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु लगायत विभिन्न वर्ग र उमेर समूहका हजारौं व्यक्तिहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र यसको महत्त्वका साथै डिजिटल बैंकिङसँगै बढेका सम्भावित अपराध र जोखिमका बारेमा समेत जानकारी दिइएको थियो।
बैंकले नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबारहरू गर्दा बैंकिङ प्रणालीकै प्रयोग गर्न आग्रह गर्दै, यसबाट बैंकिङ प्रणाली थप मजबुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास व्यक्त गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले यसअघि पनि देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय र असहायहरूलाई सहयोगजस्ता कार्यहरू गर्दै आएको छ।
हालै मात्र विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि फोनपेसँग सहकार्य गरी नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ अर्थात् भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। यस्तै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र ऋच्ल नम्बर सेवा लिन सकिने सुविधा पनि पहिलो पटक ल्याएको बैंकको दाबी छ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६७ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरूमार्फत १९ लाख १२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।
FACEBOOK COMMENTS