काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा पोखरामा सञ्चालित कार्यक्रम ‘सिटिजन एनुअल बिजनेस रिट्रिट २०८१’ सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरास्थित होटेल पोखरा ग्रान्डमा सम्पन्न भएको हो । यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो ।
सिटिजन लाइफले आफ्ना कर्मचारी र अभिकर्ताहरूका लागि विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट प्रदान गर्दै आएको छ र यसै सन्दर्भलाई निरन्तरता दिँदै उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडर्सहरूलाई विभिन्न क्षेत्रहरूमा अझै ज्ञान प्रदान गर्न रहेको हुँदा कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाको उपस्थिति रहेको थियो । प्रशिक्षक झाले सिटिजन लिडर्सहरूको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेसाप्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायत एमडीआरटी किन आवश्यक छ जस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरूले विविधतामा एकताको भावनालाई झल्काउँदै आफ्ना संस्कृतिक पोसाक तथा मौलिक संस्कृतिमा नाचगान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए । यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरूलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरूले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौकासमेत पाएका थिए ।
एनुअल बिजनेस रिट्रिट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भूषण रिमाललगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सीईओ पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरूको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदा दिनहरूमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे । सो कुरालाई मध्यनजर गर्दै सुचारू गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरूको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरू आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा रहेको बताए ।
सोही कार्यक्रममा ‘सिटिजन अर्निङ पोइन्ट’ को पनि उद्घघाटन गरिएको थियो । सीईओ पौडेलले आगामी दिनहरूमा पनि यस प्रकारका विभिन्न तालिम तथा शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS