काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो र काठमाडौं उपत्यकाबहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरूको अनलाइनमार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उपनिर्देशक पदमप्रसाद सोडारीले प्रस्तुत गरे । साथै, कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुरबहादुर भुजेलले गरेका थिए ।
उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैरकानुनी कमाइ र आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।
सिटिजन लाइफले नियमित अवधिमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै, काठमाडौं उपत्यका बाहिरका स्थानहरूमा अन्य कर्मचारी र अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल स्वयमले नै प्रस्तुत गरेका छन् । उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै आएका छन् । साथै, कम्पनीले यस प्रकारका कार्यक्रम पुनः देशभरि क्रमशः विस्तार गर्ने पनि जनाएको छ ।
FACEBOOK COMMENTS