सिटिजन्स बैंकले डिजिटल बैंकिङ र मोबाइल बैंकिङ सेवाको क्षेत्रमा उल्लेखनीय रूपमा काम गरिरहेको छ । समग्रमा भन्नुपर्दा बैंकले आफ्ना डिजिटल सेवाहरूलाई समयानुकूल र प्रयोगकर्तामैत्री बनाउन विभिन्न प्रविधि र सेवाहरूमा लगानी गर्दै आएको छ । बढ्दो प्रविधिको प्रयोगलाई पछ्याउँदै आम सेवाग्राहीहरूलाई सरल, सहज सेवा कसरी पुर्याउन सकिन्छ भन्ने कुरालाई बैंकले विशेष ध्यान दिएको छ । प्रस्तुत छ, बैंकको सेवा सम्बन्धमा बैंकका बैंकिङ कारोबार विभाग प्रमुख सरोज भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी :
मोबाइल बैंकिङ सेवाभित्र बैंकले केके उपलब्ध गराँउदै आएको छ ?
सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न सुविधाहरू उपलब्ध गराएको छ । जस्तैः आन्तरिक तथा अन्य बैंकमा फन्ड ट्रान्सफर गर्ने, खाता विवरण जाँच गर्ने, विभिन्न बिल भुक्तानी (जस्तैः इलेक्ट्रिसिटी, पानी, इन्टरनेट आदि), रिचार्ज र टपअप, क्यूआर कोडमार्फत भुक्तानी, हवाई टिकट खरिदका साथै ग्राहकले बैंकको शाखा कार्यालयमा भौतिक उपस्थितिबिना नै सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोल्न सक्नुहुन्छ । एप प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न हामी नियमित अपडेट गरिरहेका छौं ।
नँया प्रविधिहरूको प्रयोगका सम्बन्धमा बैंकको अबको रणनीति के हुन सक्छ ?
बैंकले हालसालै नेपालमा नै पहिलो पटक सिटिजन्स बैंकको मोबाइल र सीआरएन रजिष्ट्रेशन अप्लाई गर्ने सुविधा थप गरेको छ । केही समयअघि हामीले नेपालमा नै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड पनि जारी गरेका थियौं । भर्चुअल क्रेडिट कार्डको लिमिट बैंकको मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सकिन्छ । अरू सामान्य क्रेडिट कार्डको प्रयोग ग्राहकले मुख्यतया पीओएस मेसिनमा प्रयोग गर्नुपर्थ्यो, जुन सर्वसाधारणका लागि सहज पहुँच नहुन पनि सक्थ्यो भने सिटिजन्स बैंकको भर्चुअल क्रेडिट काडएमार्फत क्यूआर स्क्यान पनि गर्न मिल्ने हुँदा यो नेपाली बैंकिङ क्षेत्रमा नै नौलो प्रयोग रहेको छ । तसर्थ बैंकले नयाँ प्रविधिहरूको प्रयोगको विषयलाई सधैं उच्च प्राथमिकतामा राखेको हुँदा आगामी दिनमा पनि ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ अमदिका माध्यमबाट थप नँया सेवा सुविधा उपलब्ध गराउने कुरामा बैंकको अझ बढी ध्यान केन्द्रित हुनेछ ।
बैंकले डिजिटल साक्षरता कार्य्रकमलाई कुन ढंगबाट प्राथमिकता दिएको छ ?
हामी डिजिटल बैंकिङमा ग्राहक अनुभव सुधार गर्न निरन्तर काम गरिरहेका छौं । ग्राहकलाई डिजिटल बैंकिङको प्रयोग गर्न प्रोत्साहित गर्न विभिन्न विज्ञापन, बैंकको सामाजिक सञ्जालमार्फत विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
सिटिजन्स बैंकका डिजिटल उत्पादनहरूले अन्य बैंकहरूका उत्पादनहरूभन्दा कस्ता विशेषता राख्छन् ?
हाम्रा डिजिटल उत्पादनहरू ग्राहककेन्द्रित र प्रयोगकर्तामैत्री छन् । हामी व्यक्तिगत र कर्पाेरेट ग्राहकहरूको फरक आवश्यकतालाई मध्यनजर गरी सोहीअनुसारको सेवा प्रदान गर्न केन्द्रित भएका छौं, जसले गर्दा हाम्रो सेवाले सबै खालका ग्राहकहरूको आवश्यकता पूरा गर्दछ ।
ग्रामीण क्षेत्रमा डिजिटल बैंकिङ प्रवर्द्धनका लागि के कस्ता पहल गरिएका छन् ?
ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता बढाउन हाम्रा शाखा कार्यालयहरूमार्फत विभिन्न वित्तीय सचेतना कार्यक्रमहरू नियमित रूपमा नै सञ्चालन हुँदै आइरहेका छन् । यसबाहेक हाम्रा शाखा कार्यालयका कर्मचारीहरूमार्फत दैनिक रूपमा हुने मार्केटिङ क्रियाकलापका क्रममा समेत डिजिटल बैंकिङ प्रवर्द्धनका लागि जानकारी सम्प्रेषण गर्ने कार्याक्रमहरू भइरहेका हुन्छन् ।
आगामी पाँच वर्षमा डिजिटल बैंकिङ सेवामा के परिवर्तन ल्याउने लक्ष्य छ ?
प्रविधिको विकाससँगै ग्राहकहरूको अपेक्षा पनि शाखा कार्यालयहरूमा भौतिक उपस्थितिबिना नै अधिकतम सेवा सुविधा घर/कार्यालयबाट नै डिजिटल माध्यमबाट प्राप्त गर्न सकियोस् भन्ने रहेको हुँदा हाम्रो प्रयास पनि यसैमाथि केन्द्रित रहनेछ ।
FACEBOOK COMMENTS