काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । यससँगै अब ग्राहकहरूले मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्ने छन् ।
योजनाअन्तर्गत ग्राहकले बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँसम्म (कम्तीमा ५ हजार रुपैयाँ) ऋण लिन सक्ने छन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।
सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रूपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरेको हो ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस–बैंक टेलर सुविधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ३ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS