काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् १९९६/१२/३१ अर्थात् वि.सं. २०५३ पुस १६ गतेपछि जन्मिएकाहरूलाई मात्र लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको भावनाको कदर गर्दै बैंकले यही मंसिर पहिलो साता यो योजना सञ्चालनमा ल्याएको हो । जेन जी आन्दोलनपछि सिटिजन्स बैंकले सबैभन्दा पहिला सञ्चालनमा ल्याएको यो योजनामा २०५३ पुस १६ भन्दा अघि जन्मिएका कोही पनि सहभागी हुन नपाउने बैंकले जनाएको छ ।
खासगरी युवा र विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको यो योजनाले फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय युवा पङ्क्तिहरूलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकता पूरा गर्ने लक्ष्य लिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले जानकारी दिए । उनका अनुसार यो बचत योजनाले जेन जी युवाहरूको भावनालाई प्रतिनिधित्व गर्ने छ ।
के–के छन् सुविधा ?
यस योजनामा नि:शुल्क बैंकिङ सेवा, विविन्न शुल्कहरू छुट, आकर्षक व्याजदर, क्यास ब्याक एण्ड रिवार्ड, सामाजिक योगदानलगायत सुविधाहरू समावेश गरिएका छन् ।

यस बचत खाताका विशेषताहरूमा न्यूनतम १०० रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिने छ । साथै, युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आस्वा कमिशन तथा सि–आस्वा रजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष नि:शुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङका चारवटै सेवा एकैपटक लिएमा ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत यो योजनामा समावेश गरेको छ । ग्राहकहरूले ट्राभल कार्ड इस्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसरसमेत पाउने बैंकले जनाएको छ ।

यस्तै, सिटिजन्स बैंकको स्वामित्वमा सञ्चालित सिटिजन्स क्यापिटलले सञ्चालन गर्दै आएको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान– एसआईपी) मा पनि यो योजनाबाहकले विशेष पहुँच प्राप्त गर्ने छन् ।

यसैगरी, यो खातामा नगद फिर्ता र विभिन्न रिवार्डहरू पनि उपलब्ध छन् । बैंकका अनुसार यो खाता खोलेको मितिले सात दिनभित्र गरिने पहिलो मोबाइल टप–अपमा २५% नगद फिर्ताको अवसर पाउने छन् । रेफरल र रेफ्री दुवैले यो खाता खोलेको र कम्तिमा एउटा डिजिटल उत्पादन जस्तै: मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा कार्डको सदस्यता लिएको र कम्तिमा एउटा डिजिटल कारोबार पूरा गरेको अवस्थामा, रेफरल पुरस्कारले प्रत्येक खाताको लागि रू. २०० प्रदान गर्ने पनि बैंकले जनाएको छ ।

यस्तो रेफरल मोबाइल बैंकिङबाट प्राप्त गर्न सकिने छ । यो खातामा योजना परिवर्तनको सुविधा भने उपलब्ध नरहेको बैंकले स्पष्ट गरेको छ ।
FACEBOOK COMMENTS